कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गर्न आर्थिक चलखेल– एउटै विद्यालयसँग ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुलियो

फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । शैक्षिक क्षेत्रमा माफियाको चलखेल सँधै हुने गरेको छ । तिनै माफियाको चंगुलमा परेर पनि नेपालको शैक्षिक स्तर जहाँको त्यही देखिन्छ । शैक्षिक स्तर ठिकठाक गर्ने सरकारी निकाय नै भ्रष्टाचारी भएपछि अरुले नगरोस् पनि कसरी । कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा पैसा मुठो बुझाइएको तथ्य बाहिरिएको छ । सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगामा कक्षा १२ को परीक्षा केन्द्र निर्धारणका नाममा आर्थिक चलखेल भएको तथ्य बाहिरिएको छ । यी पाँच जिल्ला हेर्ने सिरहाको लहानस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले एउटै विद्यालयसँग ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुलेको र भनेकै ठाउँमा केन्द्र पारिदिएको पाइएको हो । यसले राज्यको शिक्षा र परीक्षा प्रणालीलाई नै गिज्याउने काम गरेको छ । कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गर्दा लहानस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले रकम लिएर विद्यालयहरूले भनेकै ठाउँमा परीक्षा केन्द्र निर्धारण गरिदिएको खुलेको हो । यसलाई पुष्टि गर्न हामीले कार्यालयका शाखा अधिकृत चन्द्रदेव यादवलाई फोन गर्‍यौं । पैसा दिए पनि भनेको ठाउँमा केन्द्र नपरेको गुनासो हामीले गर्‍यौं । तर शाखा अधिकृत यादवले भनेकै ठाउँमा केन्द्र परेको भन्दै सूची हेर्न भने । परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा केन्द्रको सूची हेर्दा पनि आर्थिक चलखेलको पुष्टि हुन्छ । अधिकांश विद्यालयलाई निकै नजिकै पर्ने विद्यालयमा केन्द्र तोकिएको छ भने कतिपयलाई १० देखि १२ किलोमिटरसम्म टाढा पर्ने केन्द्र कायम गरिएको छ । यसका लागि विद्यार्थी संख्याका आधारमा विद्यालयसँग ५० हजारदेखि दुई लाखसम्म रकम उठाइएको नाम उल्लेख नगर्ने सर्तमा विद्यालयकै सञ्चालकहरूले बताएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, लहानका प्रमुख धनपति भेटवालले पनि परीक्षा केन्द्र निर्धारण गर्दा आर्थिक चलखेलको कुरा आएको स्वीकार गर्दै त्यति माटो रकमको लेनदेन भने नभएको बताउँछन । परीक्षा केन्द्र निर्धारण जिल्ला परीक्षा समन्वय समितिले गर्छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने समितिमा बार्डका प्रमुख, जिल्ला प्रहरी प्रमुख, सशस्त्रका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख गरी पाँच जना हुन्छन् । परीक्षा केन्द्र निर्धारण गर्दा रकम लेनदेन भएको उजुरी राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालयमा परेको छ । तर कुनै कारबाही भएको छैन । वैशाख २१ गतेदेखि हुने कक्षा १२ को परीक्षामा सिरहामा ३०, सप्तरीमा २७, उदयपुरमा १७, खोटाङमा १० र ओखलढुंगामा ९ परीक्षा केन्द्र तोकिएको छ । यी पाँचै जिल्लामा गरी २७ हजार परीक्षार्थी सहभागी हुँदै छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया