पहिरो र रुख ढल्दा मेची राजमार्गका दुई स्थानमा यातायात अवरुद्ध

खगेन्द्र कार्की

झापा । इलाममा निरन्तर वर्षासँगै पहिरो खस्नुका साथै सडक किनारका ठूला रुख ढल्दा मेची राजमार्गका दुई स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतबार बिहान करिब ५ः३० बजे रोङ गाउँपालिका–४ को डुमी चोकमा सडकमाथिबाट डिस्को र सखुवा प्रजातिका ठूला रुख ढलेपछि राजमार्ग बन्द भएको हो। घटनापछि पूर्व–पश्चिम आवतजावत गर्ने सबै सवारी साधन रोकिएका छन्।
यसअघि शनिबार राति करिब ११ः४० बजे इलाम नगरपालिका–९ को राजदुवाली क्षेत्रमा लेदोसहितको पहिरो खस्दा राजमार्गको अर्को खण्ड पनि अवरुद्ध भएको थियो। पहिरोले सडक पुरिएपछि त्यस क्षेत्रमा पनि यातायात सञ्चालन ठप्प भएको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय तह, सडक कार्यालय तथा सम्बन्धित निकायको समन्वयमा काम भइरहेको छ। डुमी चोकमा प्रहरी चौकी किटेनी र राजदुवाली क्षेत्रमा प्रहरी चौकी गोलाखर्कबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक मौसम उदासका अनुसार पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ। लगातारको वर्षाले भिरालो तथा कमजोर भूभागमा थप पहिरो खस्ने जोखिम कायम रहेकाले उद्धार तथा सडक खुलाउने काममा चुनौती थपिएको उनले बताए।
प्रशासनले मेची राजमार्ग भएर यात्रा गर्ने सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा तत्काल सुधार नआए थप पहिरो खस्न सक्ने भएकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न पनि सुझाव दिइएको छ।
पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडक सञ्जालका रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा यात्रु आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित हुने देखिएको छ। सम्बन्धित निकायले सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएका छन्।

खगेन्द्र कार्की
प्रतिक्रिया