चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप : प्रहरीसहित २ दर्जन घाइते

खगेन्द्र कार्की

दमक । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरी हिरासतमा राखेको भन्दै  बाहिर राखेर अनुसन्धान गर्न माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरीसहित ४० जना घाइते भएका छन् ।

यद्यपि रास्वपाले सो झडपको स्थितिमा रास्वपाले नपुर्‍याएको र आन्दोलनमा घुसपैठको माध्यमबाट उक्त घटना घटेको हुँदा छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै विज्ञप्ति समेत जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ– चितवनमा भएको प्रदर्शनका क्रममा पार्टी सदस्यहरुबाट सञ्चारकर्मीहरुमाथि कुटपीट भएको भनी आशंकासहित प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सदैव सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुप्रति सम्मान राख्दछ र सञ्चारकर्मीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने पार्टीको स्पष्ट मान्यता रहेको छ । हाम्रा प्रदर्शनमा पार्टी सदस्य तथा पार्टीका शुभचिन्तकहरुबाहेक कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण हिजो पनि भेटिएको थियो र त्यस्तै उद्देश्य लिएर आएका व्यक्तिहरुबाट चितवनमा यस्तो भएको हुनसक्ने हाम्रो अनुमान छ ।

त्यस्ता व्यक्तिहरुको पहिचान गरी कानुनी कारवाही गर्न समेत माग गरेको छ । यस प्रक्रियामा आवश्यक सहयोग गर्न रास्वपा सदैव तयार रहेको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौं विज्ञपितमा भनिएको छ । साथै यस्ता खालका घटना नहोस् भनी चनाखो रही शान्तिपूर्वक र नियन्त्रित रूपमा विरोध कार्यक्रम सञ्चालन गर्न गराउन सम्पूर्ण पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई अपिल समेत गरेको छ ।

झडपमा दर्जनौं घाइते भए पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताए । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

‘प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुंगा हान्दा प्रहरी घाइते भएका हुन्,’ प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए ।

प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए । रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ ।

चितवनको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मंगलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।

यसैगरी, रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च 

प्रहरी...स्रोतले जानकारी दियो । सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत रकम अपचलन भएको बचतकर्ताको दावी छ । सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ । यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको बताइएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया