धरान । नेपालमा साहसिक खेलप्रति पनि रुचि बढ्दै गएको छ । त्यसमा पनि पछिल्ला वर्षमा महिलाहरूको प्याराग्लाइडिङप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको छ ।
धरान–१४ की जानुका लिम्बुको सानैको सपना थियो– प्याराग्लाइडिङ गर्ने । उनी सानो छँदा विजयपुर डाँडाबाट आकाशमा बेलुनजस्तै उडेको देख्थिन् । रंगीन बेलुन भन्दै आकाशमा हेर्दै रमाउँथिन् । उनको पनि सपना थियो– एकदिन आकाशमा उड्ने र आकाशबाट आफ्नो घर र धरानका दुश्य हेर्ने । बादललाई नजिकबाट निल्याने र उड्दै खुला आकाशसँगै रमाउँदै अवलोकन गर्ने ।
उनको यो सपना १० वर्षपछि पूरा भएको छ । आकासमा कावा खाँदै उड्न पाउँद आनन्द महसुस भएको लिम्बूले बताइन् । ‘मेरो एउटा सपना पूरा भएको छ र एकदमै खुसी लागेको छ,’ उनले भनिन्, ‘पहिलो पटक आकाशमा उड्न पाउँदाको यो क्षण मेरो जिन्दगीको अविस्मरणीय पल हो ।’ सहज र टाढा नगइ नै आफ्नै ठाउँबाट यसरी उडान लिन पाउँदा खुसी लागेको उनी सुनाउँछिन् । पूर्वमा प्याराग्लाइडिङको सेवाले यताका नागरिक र यसप्रति रुचि राख्नेलाई सहज भएको उनले बताइन् ।
धरानमा प्याराग्लाइडिङमा महिलाको रुचि र सहभागिता बढी रहेको नेपाल हृयाङ ग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ सुनसरीका अध्यक्ष रोशन अधिकारीले बताए । पूर्वको सन्दर्भमा पुरुषभन्दा बढी महिलाले प्याराग्लाइडिङ गरेका छन् ।
पछिल्लो समय एड्भेन्चर प्याराग्लाइडिङ उडान भर्नेमा महिलाहरुको बढी सहभागिता पाइएको उनको भनाई छ । उनले भने, ‘प्याराग्लाइडिङ गर्न आउने बढीमात्रामा महिला हुन्छन्, सामाजिक संजालको विकाससँगै फोटो, टिकटक, भिडियो, ब्लग बनाउन पनि यसमा महिलाको आकर्षण बढी देखिएको छ ।’
मौसम खुलेसँगै धरानबाट व्यावसायिक प्याराग्लाइडिङ उडान सोमबारदेखि पुनः सुरु गरिएको छ । सुनसरीको धरान उपमहानगरपालिका(४ स्थित छोटी मोरङबाट धरान स्काई एडभेन्चर प्याराग्लाइडिङ प्रालिले नियमित उडान सेवा सुरु गरेसँगै पर्यटकको चहलपहल बढेको छ ।
पोखराको सारङकोटबाट सुरु भएको प्याराग्लाइडिङ देशकै लोकप्रिय गन्तव्य बनेको थियो, तर अहिले धरानमा पनि प्याराग्लाइडिङमा पर्यटकको आकर्षण केन्द्र र लोकप्रिय गन्तव्य बन्दै गएको छ । प्याराग्लाइडिङ उडान छोटी मोरङबाट सुरु भएर धरान बजार वरिपरि परिक्रमा गर्दै धरान रंगशाला, बुढासुब्बा मन्दिर परिसर र सेउती खोला किनारमा ल्याण्डिङ गरिन्छ । करिब ३० मिनेटको हवाई यात्रामा पर्यटकले धरान र आसपासका रमणीय दृश्य, भेडेटार, सप्तकोसी नदीको माथिल्लो भाग तथा पहाडका रमणीय स्थलको दृश्यावलोकन गर्न पाउनेछन् । सञ्चालक अधिकारीका अनुसार एकपटकको उडानका लागि ७ हजार रुपैया शुल्क लाग्नेछ । यात्रामा फोटो र भिडियो खिच्ने सुविधा पनि समावेश गरिएको छ ।
प्याराग्लाइडिङ उडान हुन थालेपछि भारतको बिहार, विराटनगर, इटहरी, झापा लगायत स्थानबाट पनि पर्यटक आउन थालेका छन् ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले धरानमा नियमित रूपमा प्याराग्लाइडिङ उडान सञ्चालन हुँदा स्थानीय पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो