दमक । दमक नगरपालिकाको सेवा प्रवाहप्रति अधिकांश नागरिक सन्तुष्ट देखिएका छन् । नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमअन्तर्गत तयार गरेको नागरिक प्रतिवेदन पत्र अनुसार सेवाग्राहीमध्ये अधिकांशले नगरपालिकाको सेवा, कर्मचारीको व्यवहार र कार्यालयको नियमितताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । यद्यपि दमक अस्पतालको सेवा, हेल्प डेस्क, पार्किङ व्यवस्थापन, कृषि मलको उपलब्धता तथा वडा कार्यालयमा प्राविधिक जनशक्ति अभावलगायतका विषयमा सुधार आवश्यक रहेको नागरिकले औंल्याएका छन् ।कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै बाबुराम निरौलाले नगरपालिकाका विभिन्न वडाका १८२ जना नागरिकसँग प्रत्यक्ष अन्तर्वार्ता गरी प्रतिवेदन तयार गरिएको जानकारी दिए । प्रतिवेदनमा महिला, दलित, जनजाति, बालबालिका तथा पिछडिएको समुदायको समेत सहभागिता रहेको उनले बताए ।प्रतिवेदनअनुसार ५५ प्रतिशत सेवाग्राही नगरपालिकाको समग्र सेवा प्रवाहप्रति सन्तुष्ट छन् भने ४० प्रतिशतले सेवा ‘ठीकै’ रहेको र ५ प्रतिशतले असन्तुष्टि जनाएका छन् । कर्मचारीको व्यवहारप्रति ५१ प्रतिशत सन्तुष्ट, ४३ प्रतिशतले सामान्य र ६ प्रतिशतले असन्तुष्टि व्यक्त गरेका छन् ।सेवा नियमितताका विषयमा ४८ प्रतिशतले नागरिक वडापत्रअनुसार सेवा प्राप्त भएको बताएका छन् भने ४० प्रतिशतले ‘ठीकै’ र १२ प्रतिशतले समयमै सेवा नपाएको गुनासो गरेका छन् । कार्यालय नियमित सञ्चालन हुनेमा ५८ प्रतिशत नागरिक विश्वस्त देखिएका छन् । सबै उत्तरदाताले सेवा लिन अतिरिक्त रकम तिर्नु नपरेको बताएका छन्, जुन प्रतिवेदनको सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ ।नागरिकको विश्वासका हिसाबले पनि नगरपालिकाको अवस्था उत्साहजनक देखिएको छ । ५३ प्रतिशतले नगरपालिकाको सेवाप्रति विश्वास व्यक्त गरेका छन् भने ४४ प्रतिशतले मध्यम र ३ प्रतिशतले मात्र अविश्वास जनाएका छन् । सेवा लिँदा ९८ प्रतिशत सेवाग्राहीले कुनै बिचौलियाको सहयोग नलिई आफैं सेवा लिएको प्रतिवेदनमा उल्लेख छ ।बहिर्गमन अभिमतमा पनि सेवा प्रवाहप्रति सकारात्मक धारणा देखिएको छ । ६१ प्रतिशत सेवाग्राहीले कर्मचारीको व्यवहार मिलनसार र मैत्रीपूर्ण रहेको बताएका छन् । ५७ प्रतिशतले आवश्यक सूचना स्पष्ट रूपमा पाएको, ४३ प्रतिशतले आफ्ना समस्या सहज रूपमा समाधान भएको र ३९ प्रतिशतले सेवा प्रक्रिया सजिलो रहेको प्रतिक्रिया दिएका छन् ।यद्यपि प्रतिवेदनले नगरपालिकाले तत्काल सुधार गर्नुपर्ने केही क्षेत्र पनि औंल्याएको छ । नागरिकले योजना बैंकका आधारमा बजेट विनियोजन गर्न, नागरिक वडापत्र प्रभावकारी बनाउन, सुझाव पेटिकाको उपयोग बढाउन, व्यवसाय दर्ता अनिवार्य गर्न तथा बहाल कर व्यवस्थापन सुधार गर्न सुझाव दिएका छन् ।त्यसैगरी दमक अस्पतालको भौतिक पूर्वाधार सुधार, नियमित औषधि उपलब्ध गराउने व्यवस्था, नदी नियन्त्रण, सभागृह र भ्यु टावर सञ्चालनका लागि कार्यविधि निर्माण, किसानलाई मल तथा बीउ वडाबाटै वितरण, हेल्प डेस्कलाई प्रभावकारी बनाउने, जनप्रतिनिधिको नियमित उपस्थिति सुनिश्चित गर्ने, पार्किङ व्यवस्थापन तथा वडा कार्यालयमा आवश्यक प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा समेटिएका छन् ।नगरपालिकाले सार्वजनिक सुनुवाइमार्फत् नागरिकबाट प्राप्त सुझाव र गुनासालाई आगामी नीति, योजना तथा सेवा प्रवाह सुधारका आधारका रूपमा लिने जनाएको छ । प्रतिवेदनले समग्रमा सेवा प्रवाहप्रति नागरिकको विश्वास कायम रहेको देखाए पनि आधारभूत सेवा र पूर्वाधार व्यवस्थापनमा अझ सुधारको आवश्यकता औंल्याएको छ ।
४ साउन २०८३, सोमबार ०५:०० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो