विभिन्न माग राखी सुनसरीको गढीसहित देशभरका स्थानीय तहमा आन्दोलन, माग पुरा नभएसम्म आन्दोलन जारी रहने

फाष्ट मिडिया नेपाल संवाददाता

औरावनी (सुनसरी) । सरकारले संघीय संसदमा दर्ता गर्ने तयारी गरेको संघीय निजामती सेवा विधेयकको माग गर्दै गढीमा स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरुले संघीय राजधानी काठमाडौं केन्द्रीत आन्दोलनसँगै देशभरका ७५३ वटै स्थानीय तहको कामकाज ठप्प पारेका छन् । 

गढीका कर्मचारीहरुले अत्यावश्यक बाहेक सबै कामकाज बन्द गरिएको लेखा अधिकृत दिलबहादुर खड्काले बताए । कर्मचारीले सोमबार देशभरका ७५३ वटै स्थानीय तहको कामकाज ठप्प पारेका छन् । अत्यावश्यक बाहेक सबै कामकाज बन्द गरिएको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दीपक गौतमले जनाएका छन् । अनिश्चितकालीन रुपमा ‘पेन डाउन’ गरिएको उनको भनाई छ । 

स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने र स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग गरेका छन् । 

त्यस्तै समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीको सामान वृत्ति विकासको व्यवस्था गर्नुपर्ने र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि पनि कर्मचारी कल्याणकारी कोषको व्यवस्था गर्न माग गरेका छन् । 

स्थानीय तहका कर्मचारीलाई पनि ट्रेड युनियन अधिकार प्रदान गर्नुपर्ने र अस्थायी तथा करार कर्मरचारीको उचित व्यवस्था गर्नुपर्ने माग गरेका छन् । माग पुरा नभएसम्म आन्दोन जारी रहने संघर्ष समितिले जनाएको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया