दुई दिने सार्वजनिक बिदापछि इन्धन खपत घट्यो, निगम अर्बौं घाटाबाट जोगियो

खगेन्द्र कार्की

विराटनगर । नेपाल आयल निगम को तथ्यांकअनुसार चैत महिनाको तुलनामा वैशाखमा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत उल्लेख्य रूपमा घटेको छ। पश्चिम एसियामा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले चैत २२ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेको थियो। यही निर्णयसँगै निर्माण क्षेत्रको सुस्तताले पनि इन्धन खपत घटाउन भूमिका खेलेको देखिएको छ।
तथ्यांकअनुसार सबैभन्दा धेरै गिरावट डिजेलको खपतमा देखिएको छ। चैत महिनामा १ लाख ४० हजार २९ किलोलिटर डिजेल खपत भएकोमा वैशाखमा यो घटेर १ लाख २ हजार ७१ किलोलिटरमा सीमित भएको छ। अर्थात् करिब ३७ हजार किलोलिटरले डिजेलको माग घटेको हो।
पेट्रोलको खपतमा पनि कमी आएको छ। चैतमा ५९ हजार ९३८ किलोलिटर पेट्रोल बिक्री भएकोमा वैशाखमा घटेर ५८ हजार ६८० किलोलिटर पुगेको छ। मट्टितेलको खपतमा झन् ठूलो गिरावट देखिएको छ। चैतमा १ हजार २८३ किलोलिटर रहेको मट्टितेलको खपत वैशाखमा जम्मा २४८ किलोलिटरमा सीमित भएको छ।
त्यसैगरी खाना पकाउने एलपी ग्यासको खपत पनि घटेको छ। चैत महिनामा ३८ हजार ७९९ मेट्रिक टन ग्यास खपत भएकोमा वैशाखमा ३२ हजार ५६ मेट्रिक टनमा झरेको छ।
तर अन्य इन्धनको माग घटिरहेका बेला हवाई इन्धनको खपत भने बढेको देखिएको छ। चैतमा १८ हजार २४४ किलोलिटर रहेको हवाई इन्धनको खपत वैशाखमा बढेर १९ हजार ५५२ किलोलिटर पुगेको छ।
निगमले सार्वजनिक गरेको ४२ दिनको तुलनात्मक विवरणअनुसार चैत १ देखि २१ गतेसम्म ४३ हजार १३२ किलोलिटर पेट्रोल र १ लाख ५ हजार ७७० किलोलिटर डिजेल खपत भएको थियो। तर दुई दिने बिदा लागू भएपछि चैत २२ देखि वैशाख १२ गतेसम्म पेट्रोलको खपत घटेर ३८ हजार ६२२ किलोलिटरमा सीमित भएको छ। यो अघिल्लो अवधिको तुलनामा करिब १० दशमलव ४५ प्रतिशतले कम हो।
डिजेलको खपतमा भने झन्डै ३० दशमलव ६३ प्रतिशतको गिरावट देखिएको छ। पछिल्लो २१ दिनमा ७३ हजार ३६७ किलोलिटर मात्र डिजेल बिक्री भएको निगमको तथ्यांक छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुर ले सार्वजनिक बिदाका कारण पेट्रोलको खपत घटेको स्वीकार गरे पनि डिजेलको माग घट्नुमा निर्माण क्षेत्रको सुस्तता मुख्य कारण हुनसक्ने बताएका छन्। निर्माण सामग्रीको मूल्यवृद्धिका कारण देशभरका धेरै निर्माण आयोजनाको काम प्रभावित हुँदा हेभी इक्विपमेन्ट नचल्नुले डिजेलको खपत घटेको उनको भनाइ छ।
निर्माण व्यवसायी विनोद घिमिरे ले पनि निर्माण सामग्रीको महँगीका कारण धेरै परियोजना ठप्प हुँदा इन्धनको माग घटेको बताए। उद्योग तथा ढुवानी क्षेत्रमा गतिविधि कम हुँदा पनि डिजेलको खपत घट्न पुगेको विश्लेषण गरिएको छ।
इन्धनको बिक्री घटेपछि निगम ठूलो घाटाबाट जोगिएको जनाएको छ। डिजेलको खपत कम हुँदा मात्रै निगमलाई करिब ३ अर्ब २१ करोड रुपैयाँ अतिरिक्त घाटा हुनबाट बचाएको अनुमान गरिएको छ। यद्यपि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८५ पैसा नाफा भएकाले बिक्री घट्दा सम्भावित नाफामा भने कमी आएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल १०१ दशमलव ४५ अमेरिकी डलर पुगेको छ। निगमको पछिल्लो प्रक्षेपणअनुसार पेट्रोलमा सामान्य नाफा भए पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको छ। समग्रमा निगमलाई १५ दिनमै ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी घाटा हुने अवस्था देखिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया