घटना, दुर्घटना र तस्करीका खबरहरु

खगेन्द्र कार्की

विराटनगर — कोशी प्रदेशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटना र प्रहरी कारबाहीमा एक साइकलयात्रीको मृत्यु भएको छ, सात जना घाइते भएका छन् भने लागुऔषध, अवैध मदिरा र भन्सार छलीका सामान बरामद गरिएको छ। प्रहरीले हत्या, सवारी दुर्घटना र तस्करीका घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

झापाको दमक–४ भाइरल रोडस्थित संगम चोकमा बुधबार साँझ कार, साइकल र मोटरसाइकल एकापसमा ठोक्किँदा साइकलयात्री दमक–३ का ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा बिहीबार बिहान बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–८ का दुर्गाबहादुर बस्नेत घाइते छन्। घटनामा संलग्न कार चालक मोरङ उर्लाबारी–७ का नेत्रप्रसाद तिम्सिना पक्राउ परेका छन्।

यस्तै, झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।  सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिनुभयो । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय  खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । 

इलाम नगरपालिका–८ बज्रदेवीमा बिहीबार झापाबाट इलामतर्फ जाँदै गरेको बोलेरो करिब ६० फिट तल खस्दा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मोरङको कानेपोखरीमा पैदलयात्री गोबिन्द लिम्बुलाई ठक्कर दिएर फरार भएको स्कार्पियो र चालकलाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ। चालक सिरहाका ४४ वर्षीय राम उद्गार मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

मोरङको उर्लाबारी–४ मा आफ्नै घरमा रहेको घाँस काट्ने मेसिन छोएको क्रममा करेन्ट लागेर ६५ वर्षीया पवित्रा बास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

तेह्रथुमको आठराई गाउँपालिका–६ मा सामान्य विवादका क्रममा धारिलो हतियार प्रहार गरी ५१ वर्षीया रूपा कन्दङ्वाको हत्या गरेको आरोपमा ३८ वर्षीय कृष्ण लिम्बुलाई घटनाको केही घण्टामै प्रहरीले पक्राउ गरेको छ।

यता, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट तीन वटा सवारीसाधनमा लुकाइछिपाइ ओसारिँदै गरेको ३ हजार ३३२.४६० किलोग्राम गाँजा बरामद गरिएको छ। तीनवटै सवारी नियन्त्रणमा लिइए पनि चालकहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

सिरहाको भगवानपुर गाउँपालिका–३ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटको कारबाट भारततर्फ तस्करी गर्न लागिएको ५८ कार्टुन कस्तुरी, ७ कार्टुन अर्ना बियर, ३ कार्टुन बाह्रसिङ्गे बियर र १३ बोतल ब्ल्याक ओक मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ। चालक भने फरार छन्।

यस्तै, मोरङको रानी नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको लत्ताकपडा र तीन वटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालय बुझाएको जनाएको छ। प्रहरीले सबै घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ।

यसैबीच, झापामा लागुऔषध कारोबारीहरूले प्रहरीलाई छल्न नयाँ–नयाँ तरिका अपनाउने गरेका छन्। कहिले जुत्ताको तलुवा, कहिले सवारीसाधनको गोप्य भाग, कहिले कपडाको सिलाइभित्र त कहिले खाद्यान्नका प्याकेटमा लुकाएर लागुऔषध ओसारपसार हुने गरेको छ। तर यसपटक झापाको भद्रपुरमा प्रहरीले फेला पारेको घटना निकै गम्भीर र स्तब्ध बनाउने खालको रहेको छ। लागुऔषध ब्राउन सुगर कुनै झोला वा सवारीसाधनको गोप्य भागमा नभई दुई महिनाको शिशुले लगाएको डायपरभित्र लुकाइएको अवस्थामा फेला परेको हो।बुधबार साँझ करिब ५ः१५ बजे भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एउटा अटोलाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा अटोमा सवार दम्पतीसँग रहेको दुई महिनाको शिशुको डायपरभित्र प्लास्टिकमा पोको पारेर लुकाइएको ब्राउन सुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया