काठमाडौं । सरकारको चाहना अनुसारको आन्दोलन भएको छ । सरकारले जे चाहि राखेको थियो त्यो भयो । केही हिंसा होस र यिनीहरुलाई आवश्यक कारवाही गर्न सहज होस भन्ने बाटो नै सरकारको रोजाईमा परेकाले सरकारले आन्दोलनलाई भड्काउने रणनीति लियो । लाखौं जनता सडकमा निस्कने होहल्ला अगाडिदेखि हुँदै गर्दा पनि सरकारको वेवास्ताका कारण राजावादीको आन्दोलनमा अप्रिय घटना हुन पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लै दिन भन्दै थिए– भोलि के के हुन्छ जस्तो गरेर आतंक फैलाएका छन तर केही हुँदैन, १०–१५ हजार मान्छे एक ठाउँमा भेला हुन्छन, उफ्रिन्छन जान्छन भन्ने प्रधानमन्त्री बोली अन्ततः फेल मात्र भएन सेना नै सडकमा उतान बाध्य हुनु परेको छ । निहत्था युवकको ज्यान गएको छ । सञ्चारकर्मी, मिडिया हाउस, व्यवसायिक भवनमा आगजनी र लुटपात भएको छ । सडकमा लाखौं झरेको आँकलन सरकारले ४ हजारमा सीमित बनाउँदा पनि ४ हजारलाई नियन्त्रण गर्न नसक्ने सरकार चाहि कस्तो सरकार हो । फेरी राजतन्त्र पक्षधरका नवराज सुवेदी जब मञ्चमा आएपछि सुरक्षाकर्मीले किन टियरग्यास फाल्यो– त्यो अराजकताको कारक यहि थियो अन्ततः शान्तिपूर्ण प्रदर्शन भनिएको मास हिंसामा परिणत भयो । यसको सम्पूर्ण जिम्मा सरकारले लिन पर्दछ । सरकारले सबैतिर शान्ति सुव्यवस्था कायम गर्न सकेको भए सम्भवतः २ जनाको मृत्यु, आगजनी, तोडफोड र लुटपाट हुने थिएन । हत्या र हिंसात्मक गतिविधिप्रति घोर आपत्ति छ, निन्दनीय छ, भत्र्सनायोग्य छ । सञ्चारकर्मी मित्र र सर्वसाधारण मृतक भाईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
सरकारको लापरवाही र वेवास्ताले शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलन हिंसात्मक बनेको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । आन्दोलनका क्रममा दूई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले तीनकुनेका स्थानीय घरमा आगो लगाएपछि त्यहाँभित्रबाट लाइभ गरिरहेका एभिन्युजकर्मी सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रजक आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँको सिडियो ऋषिराम तिवारीलाई पटकपटक फोन गरेको तर उनीहरूले कुनै जिम्मेवार जवाफ नदिएको बताएका छन् । पछि रजक उक्त आगलागीमा नपरेको जवाफ सुरक्षाका अधिकारीले दिएका दिए । तर, अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको छ । यसैगरी प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ । महर्जनको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको हो । तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। अहिले तीनकुनेलगायत आसपासका कफ्र्यु लगाइएको र नेपाली सेनाले गस्ति गरिरहेको छ ।
राजावादीहरु एकत्रित भएको तीनकुनेको एउटा घरको छतबाट प्रहरीले अश्रूग्यास प्रहार गरेपछि आन्दोलन नियन्त्रणबाहिर गएको राजावादीको आरोप छ । तर सुरक्षाकर्मीले भने राजावादीहरुले नयाँ बानेश्वरतर्फको निषेधित्र क्षेत्र तोड्न खोजेपछि त्यहाँ राजावादी समर्थकहरू र प्रहरीबीच झडप भएको बताएको छ । सो आन्दोलनको मुख्य कमाण्डर दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढ्यो । त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेको छ । जवाफमा आन्दोलनकारीले पनि ढुंगा प्रहार गरेका छन् ।
प्रहरीको बलप्रयोगपछि दुर्गा प्रसाईंको टोली पछाडि हट्यो । प्रहरीले बल प्रयोग गरेपछि राजावादीको कार्यक्रम विथोलिन पुगेको छ । प्रदर्शनमा सहभागी हुन पुगेका नेता, कार्यकर्ताहरु कार्यक्रमस्थल बाहिरिएका थिए । राजसंस्था पक्षधरको आन्दोलन नियन्त्रणबाहिर गएपछि काठमाडौँमा सेना परिचालन गरिएको छ ।
गृह मन्त्रालयको आकस्मिक बैठक बसेर सरकारलाई गरेको आग्रहपछि तनावग्रस्त क्षेत्रमा सेना परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
राजसंस्था पक्षधरको आन्दोलन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रणबाहिर गएकोले सेना परिचालनका लागि गृहले आग्रह गरेको केसीले बताए ।
राजसंस्था समर्थकको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनमा ढुंगामुढा र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजनलक्ष्यित आक्रमण गरेका थिए । आक्रमणबाट कान्तिपुर कार्यालयमा क्षति पुगेको छ । यस्तै तीनकुनेमै अवस्थित अन्नपूर्णपोस्टको कार्यालयमा पनि आगजनीको प्रयास भएको छ । ढुंगा प्रहार हुँदा अन्नपूर्णको कार्यालयमा पनि क्षति पुगेको छ । यस्तै कोटेश्वरको भाटभटेनीमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । आलोकनगरको एकीकृत समाजवादीको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी भएको छ ।
तीनकुनेमा आगजनी
राजावादी समूहले तीनकुने क्षेत्रमा एक घरमा आगजनी गरेको छ। यसअघि तोडफोड गरेको एक घरमा प्रदर्शनकारीले आगजनी गरेको हो ।
प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै स्थानीयको घर तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। आगो निभाउन दमकल आइपुगे पनि प्रदर्शनकारीले ढुंगा हानेर आगो निभाउन दिएका थिएनन् । सोही आगोमा परेर एकजना सञ्चारकर्मीको ज्यान गएको छ ।
राजावादीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएकाहरूले कम्पनीमा आगो लगाएका हुन् । राजावादीका नाममा ठाउंठाउँमा तोडफोड र आगजनी बढेपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कफ्र्यु जारी गरेको हो ।
व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको छ ।
तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन अघि दिउँसो ४.२५ बजेदेखि राति १० बजेसम्म कफ्र्यु लगाइएको हो ।
गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कफ्र्यु लगाउने निर्णय भएको हो । राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रदर्शनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए ।
प्रदर्शनकारीहरुले उनीहरूले तीनकुनेका तोडफोड र आगजनी गरेका थिए । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।
यसैबीच, आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं आन्दोलनको हट–स्पट छोडेर भागे । आफ्नै कमाण्डको आन्दोलन तनावग्रस्त भएपछि दुर्गा प्रसाईं ठूलो तनावमा परेका छन् । प्रसाईंकै कारण तीनकुनेमा स्थिति नियन्त्रणबाहिर पुगेको प्रहरी प्रशासनको रिर्पोटिङ छ । उनी आफैं गाडी चलाएर निषेधित क्षेत्र तोड्न उद्धत भएको र प्रदर्शनकारीलाई पनि उक्साएको प्रहरीको बुझाई छ ।
आन्दोलनको चासो
राजावादीहरुको शुक्रबारको आन्दोलन अशान्तपूर्ण बनेपछि के हुन्छ भन्ने चिन्ता र चासो सर्वसाधारणमा बढेको छ । यसअघि संयुक्त जनआन्दोलन मुल समितिले शनिबार आन्दोलन नगर्ने र आइतबारदेखि निरन्तर सडकमा आउने घोषणा गरेको थियो । आज शनिबार घोडेजात्रा पर्व भएकाले आन्दोलन नगर्ने निर्णय समितिले यसअघि गरेको हो । तर, यो निर्णयमा पुनर्विचार हुन सक्ने राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा बताउँछन् । उनले भने, ‘आज घोडेजात्रा हो हामीले नगर भन्या छौं । तर सरकारले जस्तो हरकत र रवैया अपनायो, त्यसले गर्दाखेरि के हुन्छ भन्न सकिँदैन ।’
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो