काठमाडौं । सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग र कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको सरकारी प्रतिवेदनले निष्कर्ष निकालेको छ । सरकारले सार्वजनिक गरेको “सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२” को प्रतिवेदनले सहकारी क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको औंल्याएको हो ।प्रतिवेदनमा नेपालको संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधार भए पनि पछिल्ला वर्षहरूमा देखिएको बेथितिले नागरिकको भरोसा घटाएको उल्लेख गरिएको छ । आयोगका अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा शाखा सञ्चालनमा पर्याप्त अध्ययन र मापदण्ड पालना नगरी स्वीकृति दिइँदा धेरै संस्था समस्याग्रस्त बनेका छन् ।आयोगले केही सहकारी सञ्चालक तथा व्यवस्थापकहरूले सहकारीको मूल उद्देश्यबाट विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, अपारदर्शी कारोबार र व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि सञ्चालन गरेको उल्लेख गरेको छ । प्रतिवेदनमा कमजोर नियमन, जथाभाबी दर्ता प्रक्रिया, राजनीतिक आबद्धता तथा प्रत्यक्ष–अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान संकट निम्त्याएको स्पष्ट पारिएको छ ।यस्तै बहु नियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभाव पनि सहकारी क्षेत्रका प्रमुख समस्याका रूपमा औंल्याइएको छ ।आयोगले सहकारी क्षेत्र सुधारका लागि प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कडा सुशासन, बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई तत्काल प्राथमिकतामा राख्न सुझाव दिएको छ ।प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत र व्यवहारगत सुधारलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन् ।उनले सरकार सहकारी क्षेत्रलाई पुनः विश्वसनीय, पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउने लक्ष्यसहित अघि बढेको बताइन् । सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियमावलीलाई समयानुकूल संशोधन गर्ने र कर्जा असुली तथा बचत फिर्ता प्रक्रियालाई नतिजामुखी बनाउने काम अघि बढाइएको मन्त्री रावलको भनाइ छ ।मन्त्रालयले आयोगका सुझाव र सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
खगेन्द्र कार्की
१४ जेठ २०८३, बिहिबार १०:५० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो