जगदम्बा स्टिल्सले ३ सय प्रतिकित्ताका ६ अर्बको आइपिओ दशैंपछि खुल्ला गर्ने

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडले दसैंपछि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा एक साता अघि निवेदन दिएको हो।

जगदम्बाले प्रति कित्ता ३ सय रुपैयाँका दरले प्रिमियममा आईपीओ जारी गर्ने निवेदन पेस गरेको छ। कुल ६ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने तयारी कम्पनीको छ। जगदम्बा स्टिल्सले सर्वसाधारणलाई दुई करोड कित्ता सेयर दिँदैछ।

सन् २०२२/२३ मा जगदम्बा स्टिल्सको व्यापार (अपरिष्कृत) ४० अर्ब १७ करोड रुपैयाँमा छ। अघिल्लो वर्ष कम्पनीले ४९ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको थियो।

गहिरिएको मन्दीका कारण अघिल्लो वर्षको तुलनामा शंकर समूहको सो कम्पनीको व्यापार साढे ९ अर्बले घटेको छ। व्यापार घटेपनि जगदम्बा अझै पनि देशको शीर्ष डन्डी उद्योग कायमै छ।

यस्तै, जगदम्बा स्टिल्सले २०२०/२३ मा २९ अर्ब ५५ करोड र २०१९/२० मा २१ अर्ब रुपैयाँको कारोबार गरेको थियो। बाराको जीतपुरमा प्लान्ट रहेको जगदम्बा स्टिल्ससँग वार्षिक २४ लाख ४४ हजार टन जडित क्षमता छ। २०२१ मा कम्पनीको जडित क्षमता २० लाख ३० हजार टन थियो। २०२१ मा कम्पनीले सीआरएम प्लान्ट थप गरेको थियो।

कम्पनीले एमएस बिलेट उत्पादनका लागि स्पन्ज आइरन र पिग आइरन विदेशबाट आयात गर्दै आएको छ। कम्पनीले भारत र चीनबाट एचआररसीआर कोइल्स, वायर रड, पिग आइरन र स्पन्ज आइरन आयात गर्दै आएको छ। पत्रु ९स्क्याप० भने स्वदेशी बजारबाटै जुटाउँदै आएको छ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया