२ लाख नगदसहित १४ किसानलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्रदान

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । कोशीका दुईसहित देशभरका १४ किसानलाई “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार” प्रदान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा राष्ट्रपति भवन शितल निवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशबाट दुई जनाको दरले १४ जना कृषकलाई जनही २ लाख नगदसहितको “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार” प्रदान गरिएको हो । 

कोशीबाट आर्य कृषि फर्मका सञ्चालक सुरेश कुमार मेहता र रमेश कृषि फर्मका सञ्चालक रमेश साहले उक्त पुरस्कार हात पार्न सफल भएका छन् । मधेस प्रदेशबाट भरत कुमार यादव (शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) रहेका छन् ।  

बागमती प्रदेश ःचेत प्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि (ग्रीनलाईन एग्रो प्राली)ले उक्त पुरस्कार प्राप्त गरे । 

त्यस्तै गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म) रहेका छन् । 

लुम्बिनी प्रदेशबाट जयपाल मौर्य (खाधन्न वाली) र सुवास कुर्मी (शान्ती उन्नत  पशुपालन तथा माछा फर्म), कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र  भरतनाथ योगी (सुन्तला खेती) रहेका छन् ।

यस्तै सुदुरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा  (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म)ले उक्त पुरस्कार हात पारेका हुन । 

उक्त पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले उत्कृष्ट कृषक पुरस्कार कार्यले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा थप प्रेरणा प्रदान हुने विश्वास लिएको बताए । उनले भने– उहाँहरूको यो सफलताले विशेष गरी युवाहरू, महिलाहरू र साना कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको छ, जसले कृषि पेशाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याइरहेको छ । पुरस्कृत भएका जस्तै हजारौ सक्रिय कृषकहरूको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्वपूर्ण मार्गनिर्देशन गरेको उनले बताए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया