दमक/ नेकपा एमाले भित्रभित्रै ववरण्डर मच्चिएको छ । लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लाग्दै आएका भीम रावललाई रामवाण प्रयोग गरेर साधारण सदस्य समेत नहरने गरी हटाइने निर्णय भएको छ ।
खास गरेर ओली विरोधीहरुप्रति निर्मम बन्दै आएको अहिले एकै पटक होइन । उनले सांकेतिक रुपमा विभिन्न भाषणहरुमा बोल्दै र भन्दै आएका विषय हुन् । चाइनाको जस्तो दलभित्र नेतृत्वको विरुद्धमा सबै चुप लाग्नुपर्ने उनको सांकेत शायद रावल बुझ्न सकेनन अन्ततः उनीमाथि ओलीको अस्त्र प्रयोग गरेर उनलाई हटाउने निणर्य गरिएको छ । शृंखलाबद्ध रुपमा प्रधानमन्त्री समेत रहेका ओली सबैतिर तानाशाह प्रवृत्ति हावी गराउँदै आइरहेका टिकाटिप्पणी पनि भइरहेको छ । खास गरेर गत ३० मंसिर २०८१ मा एमालेको संगठन विभागले काठमाडौंमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको थियो । ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालामा प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष, महासचिव र महानगर–उपमहानगरका एमालेबाट निर्वाचित प्रमुख, उपप्रमुखहरू सहभागी थिए ।
ती नेता र कार्यकर्ताहरूको माझमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईवटा कुरा गरेका थिए । एक, पार्टीभित्र विमति राख्ने तर समाधान नगर्ने प्रवृत्ति देखियो । दोस्रो, नेपालमा जस्तो चिनियाँ कम्युनिस्ट पार्टीमा नेतृत्वविरुद्ध प्रश्न उठ्दैन ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्केको १० दिनपछि नेता कार्यकर्तालाई चिनियाँ कम्युनिस्ट पार्टीको उदाहरण दिएर नेतृत्वविरुद्ध नबोल्न संकेत गरेका थिए । आउने दिनमा पार्टी अध्यक्षविरुद्ध नबोल्न सन्देश दिएका ओलीले विगतमा प्रश्न उठाउनेमाथि निर्मम हुने संकेत पनि गरेका थिए ।
त्यस दिन ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाममा गुटबन्दी भएको र त्यसमा आफ्नो भूमिका नभएको सन्देश पनि दिन चाहेका थिए । ओली त्यसरी कठोर हुन्छन् भन्ने संकेत एमाले शीर्ष नेताहरूले पाइसकेको बुझिन्छ । त्यस्तो संकेत उपाध्यक्ष विष्णु पौडेलको अभिव्यक्तिबाट बुझिन्छ । त्यही कारण पौडेलको अभिव्यक्ति रणनीतिक रूपमा सार्वजनिक भएको थियो ।
कार्यशाला गोष्ठी हुनुभन्दा अघिल्लो दिन राष्ट्रिय समाचार समिति (रासस)मार्फत निजी सञ्चारमाध्यमसम्म पुग्यो पौडेलको अन्तर्वार्ता । उक्त अन्तर्वार्ताको खास मक्सद अध्यक्ष ओलीलाई रिझाउने देखिन्थ्यो ।
त्यसमा पौडेलले भनेका थिए, ‘अर्को महाधिवेशनको अध्यक्ष केपी ओली नै हो ।’ पौडेलको उक्त तीरले दुईवटा सिकार गर्न खोजेको देखिन्थ्यो । एक, आउँदो महाधिवेशनमा अध्यक्षको दाबीमा देखिएका महासचिव शंकर पोखरेललाई दबाबमा राख्ने । अर्को, पछिल्ला दिनमा
अध्यक्ष ओलीसँग बिग्रँदो सम्बन्धमा सुधार गर्ने ।
आउने महाधिवेशनमा पौडेल र पोखरेल नै अध्यक्षको दाबेदार रहेको चर्चा एमालेमा भइरहेको छ । त्यसमा पनि अध्यक्ष ओलीले पोखरेललाई अगाडि सार्न खोजिरहेका छन् भन्ने चर्चा भइरहेको छ । त्यहीबीचमा एमालेका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पौडेलनिकट भएको आरोपले पनि समस्या भइरहेको थियो । भण्डारी एमालेको नेतृत्व गर्ने गरी सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच पौडेलको निकटताले ओलीसँग सम्बन्ध चिसिएको एमाले नेताहरूले बताइरहेका थिए । त्यस कारण पनि पौडेलले कार्यशाला गोष्ठीको अघिल्लो दिन रणनीतिक रूपमा राससलाई अन्तर्वार्ता दिएको विश्लेषण भइरहेको छ ।
त्यसो त पौडेलले अन्तर्वार्ता दिनुभन्दा केही दिनअघि आफू र अध्यक्ष ओलीबीच मनमुटाव नभएको स्पष्टीकरण दिएका दिए । पार्टी र आफ्नोबारेमा खास प्रतिक्रिया नदिने नेता पौडेलले सार्वजनिक अभिव्यक्तिमार्फत स्पष्टीकरण दिनुपर्ने बाध्यता आउनु नै खासमा समस्या रहेको टिप्पणी भइरहेको छ ।
एमाले नेताहरूकै भनाइमा पछिल्ला दिनमा एमालेभित्र गुटबन्दी बढ्दो छ र अध्यक्ष ओलीमाथि प्रश्न गर्नेको संख्यामा बढोत्तरी भएको छ । महासचिव पोखरेलले आफ्नो समूह बलियो बनाउनकै लागि जिम्मेवारी दिने गरेको र कार्यविभाजनमा नेताहरू लाखापाखा भइरहेको एमाले नेताहरूको दाबी छ । त्यसले एमालेभित्र असन्तुष्टि बढाइरहेको छ । एमालेभित्र त्यसरी बढ्दो असन्तुष्टिको ओत उपाध्यक्ष पौडेलसम्म पुग्छ र पौडेलले पनि धान्न नसकेको असन्तुष्टि भने भण्डारीसम्म पुग्न थालेको छ । त्यसले गर्दा गुटबन्दी मात्र होइन, असन्तुष्टि बढ्दो क्रममा रहेको नेताहरूको भनाइ छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो