स्वतन्त्र र सामाजिक व्यक्तित्व थापाको नेतृत्वमा केराबारी खानेपानी

खगेन्द्र कार्की

केराबारी । बाल्यकालदेखि नै संघसंस्था सञ्चालनमा अनुभव बटुल्दै आएका सामाजिक व्यक्तित्व केराबारीका गोकुल बहादुर थापाको काम गर्ने तौरतरिका फरक छ । स्वदेश होस् वा विदेशमा उनको संस्था सञ्चालन र कार्यशैलीकै कारणले उनका वरिपरि झुम्मिनेहरुको लार्को लाग्ने गर्दछ । कतारमा रहँदा विभिन्न संघसंस्था खोलेर त्यसलाई कार्यान्वयनको पक्षबाट सफल बनाएर नेपाल फर्किएका थापाले नेपालको केराबारीमै रहँदा पनि धेरै संघसंस्थाको सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तिनै सामाजिक अभियानमा स्वच्छ र निष्पक्ष देखिएका थापाले केराबारीको शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा दोस्रो कार्यकालको लागि विजयी भएका छन् ।  प्रवासबाट फर्किएपछिको अनुभव आफ्नै गाउँठाउँमा लगाउने उद्देश्यका सामाजिक अभियानमा लागेका थापा यस अघिका अध्यक्ष समेत हुन । उनले पहिलो कार्यकालमा सबैलाई समेटेर गाउँपालिका, खानेपानी र श्रमसंस्कृतिको आधारमा धेरै ठूला ठूला कामहरु केराबारीको खानेपानीमा गरेका छन् । उनले मोरङको केराबारीस्थित शुभ खानेपानी तथा सरसफाई समितिको आइतबार सम्पन्न निर्वाचनबाट दोस्रो कार्यकालको अध्यक्ष पदमा जिम्मेवारी पाए । मौजुदा कार्यसमितिका सचिव टिकाराम चापागाई थापाका प्रतिद्वन्द्वी रहेका थिए । थापा १०८ मतान्तरले विजय भए । सो खानेपानीमा १ हजार २ सय २ मतदाता रहेका मध्ये ९ सय २२ जनाले मताधिकार प्रयोग गरेको नवनिर्वाचित अध्यक्ष थापाले बताए । त्यसैगरी उपाध्यक्षमा टंकबहादुर बस्नेतले १ सय ३७ मतान्तरले विजयी भए । 

यसैगरी सचिवमा ५ सय ६३ मत प्राप्त गर्दै दिलखुश लिम्बू विजयी भए । सहसचिवमा टाइनाथ घिमिरे र कोषाध्यक्षमा नरमाया लिम्बू विजयी भए । सबैभन्दा कान्छा उमेद्धारको सूचिमा रहेका जोसेफ उरावलाई हराउँदै टाइनाथ घिमिर ५ सय ३८ मतका साथ सहसचिवमा विजयी भए ।

५ जना सदस्यका लागि ६ जना उमेद्धारहरु विच भएको प्रतिस्पर्धामा देवेन्द्र सूब्बाले सर्वाधिक मत प्राप्त गरी विजयी भए । उनले ६ सय १ मतका साथ विजय हासिल गरेका छन् । यसैगरी कमला घिमिरे, मिन प्रसाद आचार्य, रमानाथ फूयाल र दुर्गा कुमारी कार्की विजय भएका छन् । 

केराबारी १०, ८ र ३ वडाका केही उपभोक्ता समेतलाई पिउने पानीको आपुर्ति व्यवस्थापन गर्दै आएको शुभ खानेपानी उपभोक्ता संस्था केराबारी बजार क्षेत्रको प्रमुख खानेपानी संस्थाको रुपमा लिइन्छ । संमितिको पुष १२ गते सम्पन्न साधरण सभामा कार्यसमितिमा सहमति हुन नसकेपछि निर्वाचन गराइएको थापाले बताए ।

अध्यक्षको पुनः जिम्मेवारी लिएपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमा भिडियो राखेर संस्थालाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । आफ्नो जीत भनेको खानेपानीका सम्पूर्ण सदस्यको जित रहेको भन्दै सबैलाई केराबारीबासीको खानेपानीको बेहत्तर हित र विकासमा जोडिएर आवश्यक सल्लाह र सुझावसहित संस्थाका गतिविधिमा आवद्ध हुन आब्ह्वान समेत गरेका छन् । 


खगेन्द्र कार्की
प्रतिक्रिया