नेपालमा पछिल्लो २४ घण्टामा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का ७३ घटना हुँदा ४ जनाको मृत्यु र १४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चैत २ गते बिहानदेखि चैत ३ गते बिहानसम्म भएका घटनामा हावाहुरीबाट २, सर्पदंशबाट १ र चट्याङबाट १ जनाको ज्यान गएको हो। यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ र आगलागीका १२ घटना भएका छन् भने करिब २ करोड ४१ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। ४३ जिल्ला प्रभावित हुँदा ३४९ जना प्रहरी उद्धारमा परिचालन गरिएका थिए।
चालु आर्थिक वर्ष २०८२ को वैशाखदेखि हालसम्म ६,९५१ विपद्का घटना हुँदा ४७५ जनाको मृत्यु, ३८ जना बेपत्ता र १,८४६ जना घाइते भएका छन् भने १२,६५० परिवार प्रभावित भएका छन्। यसबीच आगलागी, सर्पदंश, पहिरो, जनावरको आक्रमण र चट्याङ मुख्य मृत्युका कारण बनेका छन्। मौसमका हिसाबले देशभर वर्षा भएको छ, जसमा धनकुटाको मुलघाटमा सबैभन्दा बढी ३५ मिमी वर्षा मापन गरिएको छ भने भैरहवामा अधिकतम ३४.५ डिग्री सेल्सियस र मनाङको हुम्देमा न्यूनतम माइनस ८.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
उता कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ र सोलुखुम्बुमा हावाहुरी र असिनाले ठूलो क्षति पुर्याएको छ, जहाँ करिब १ करोड ४५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। उदयपुरको कटारीमा रुख ढलेर २ जनाको मृत्यु भएको छ भने धनकुटा र खोटाङमा घरका छाना उड्नुका साथै विद्यालय, गोठ र अन्य संरचनामा क्षति पुगेको छ। खोटाङमा प्रसारण लाइन बिग्रिँदा करिब ३० हजार उपभोक्ता विद्युत् विहीन भएका छन् भने ओखलढुंगाको एक विद्यालयमा छाना उड्दा पठनपाठन प्रभावित भएको छ। समग्रमा पछिल्लो समय हावाहुरीसहितका विपद्का घटनाले जनजीवनमा गम्भीर असर पार्दै गएको देखिएको छ।
दुई जनाको मृत्यु
उदयपुरको कटारीमा हावाहुरीपछि रुखले च्याप्दा दुई जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–८ थलियाटारमा हावाहुरीपछि रुखले च्यापिएर ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको छ । घरनजिकै रहेको गोठबाट खसीबाख्रा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीले घर नजिकैको कुटमिरो रुख लड्दा हाँगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोडले जानकारी दिए । घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई जाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तामाङसहित कटारीमा हुरीपछिको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सोमबार साँझै कटरी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको पनि हावाहुरी पछि रुखले च्याप्दा मृत्यु भएको थियो ।
घरका छाना उडायो
यस्तै हावाहुरीकै कारण धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा क्षति पुगेको छ । सोमबार राती ८ बजे देखि ९ बजे सम्म करिब एक घण्टा आएको हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै विभिन्न स्थानमा रुख ढलेका छन । रुख ढलेको कारण धेरै स्थानमा क्षती पुगेको जनाइएको छ । त्यस्तै केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए । धनकुटा नगरपालिकाको निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा समेत क्षती पुगेको छ । स्थानीय खेम थापाका अनुसार केहि घरका छाना उडाएको, बिजुलीको पोल लडेका छन् सदरमुकाम बाहिर पनि हावाहुरी आएकाले क्षती भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
विद्युत अवरुद्ध
यस्तै हावाहुरीले खोटाङमा विद्युत् अवरुद्ध भएको छ । उदयपुरको जलजलेबाट ल्याइएको ३३ केभी प्रसारण लाइन र सोलुबाट जोडिएको ३३ केभी प्रसारण लाइन बिग्रिँदा सोमबार साझदेखि विद्युत् अवरुद्ध हुँदा करिब ३० हजार उपभोक्ता अन्धकारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणका प्राविधिक प्रमुख रामबहादुर श्रेष्ठले मर्मतको प्रयास भई रहेको जनाएका छन् । यो समाचार तयार पार्दा सम्म त्यस क्षेत्रमा विद्युत आपूर्ती भएको छैन ।
यस्तै खोटाङमै ३० भन्दा बढी घरको छाना उडेको छ । चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा ठुलो क्षति पु¥याएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हावाहुरीले केही विद्यालय भवन, टहरा र गोठहरूमा समेत क्षति पु¥याएको छ । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारस्थित छोर्दिपा गाउँको एउटै टोलमा करिब १५ घरको छाना उडेको नगर प्रमुख विमला राईले जानकारी दिएकी छन् । च्यास्मिटार, डिकुवा, बाहुनीडाँडा र धितुङलगायतका स्थानमा गरी करिब २५ घरमा क्षति पुगेको हो । सबै स्थानको यकिन विवरण वडा कार्यालयमार्फत संकलन भइरहेको उनको भनाइ छ ।
विद्यालयमा क्षती
हावाहुरीका कारण ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ पाराको दामती माविमा क्षति पुगेको छ । हावाहुरीले विद्यालयको छाना हावाहुरीले उडाएको हो । सो विद्यालयको कक्षा ८, ९ र १० पढाइ हुँदै आएको भवनको जस्तापाताको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो । हावाहुरीले विद्यालयको जस्तापाता भीरमा उडाएर पुर्याएको विद्यालय स्रोतले जनाएको छ ।