नेपाली क्रिकेटले गर्दैछ खेल जगतको स्वर्णीम युगको सुरुआत

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । नेपाली क्रिकेटले गर्दैछ खेल जगतको स्वर्णीम युगको सुरुआत गर्दैछ । नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने चन्दले जानकारी गराए । उनका अनुसार प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर लिग कपबाट मूलपानी क्रिकेट मैदान प्रयोगमा आएको थियो ।

‘आईसीसीले बुधबार इमेल पठाएर नेपाललाई प्रतियोगिता आयोजना गर्न दिन लागेको निश्चित गरेको छ, उसले सहभागी अन्य राष्ट्रलाई ट्वान्टी–२० विश्वकपको एसिया छनोट नेपालमा आयोजना गर्न लागेको जानकारी गराइसकेको छ,’ क्यान अध्यक्ष चन्दले भने, ‘कीर्तिपुर र मूलपानीमा प्रतियोगिताका खेल हुने भनेको छ, मूलपानीमा अझ सुविधा थप्नुपर्ने जोड उनीहरूले गरेका छन् । हामीसँग त्यसका लागि समय छ, हामी त्यो सुविधा थप्नेछौं ।’

खगेन्द्र कार्की
प्रतिक्रिया