वैशाखयता विपदमा १२७ जनाको मृत्यु, सर्पदंशबाट सबैभन्दा बढी क्षति

खगेन्द्र कार्की

इटहरी । चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि असार १९ गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा १२७ जनाको मृत्यु भएको छ भने ७७३ जना घाइते भएका छन् । सो अवधिमा दुई हजार ७२१ वटा विपदजन्य घटना दर्ता हुँदा तीन हजार ७२२ परिवार प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनअनुसार सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको छ । यस अवधिमा सर्पदंशका ३९८ घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् । मनसुन सुरु भएसँगै विशेषगरी तराई–मधेसका जिल्लामा सर्पदंशको जोखिम बढ्ने गरेको प्राधिकरणले जनाएको छ ।
यसैगरी, लेक लाग्ने ५४ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । पर्याप्त तयारीबिना हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा यस्ता घटना बढ्ने गरेको प्राधिकरणको भनाइ छ ।
चट्याङ्का २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएका छन् । आगलागीका सबैभन्दा धेरै ८३० घटना भए पनि त्यसबाट १७ जनाको मृत्यु र १०० जना घाइते भएका छन् ।
जनावरको आक्रमणका १४७ घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने ८२ जना घाइते भएका छन् । त्यस्तै, हावाहुरीका ४७४ घटनामा १३ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया