इनरुवामा चैत ५ देखि ७ सम्म अन्तर्राष्ट्रियस्तरको कुस्ती दंगल प्रतियोगिता हुने

फाष्ट मिडिया नेपाल संवाददाता

रिकेश निरौला। सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा पहिलोपटक नेपालसहित तीन देशका चर्चित कुस्तीबाजहरुका बिचमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती दंगल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन सुनसरीको आयोजनामा इनरुवा खेलमैदान जेडफिल्डमा आगामी चैत ५ देखि ७ गतेसम्म नेपाल, भारत र बंगलादेशका खेलाडीहरुको सहभागीतामा प्रथम मदन भण्डारी स्मृत्ति अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता हुने भएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल निजामती कर्मचारी संगठन सुनसरीका अध्यक्ष चिनेश्वर मेहताले इनरुवाको पहिचानलाई स्थापित गराउँदै खेलकुद विकास, आन्तरिक पर्यटन र व्यवसाय प्रर्वद्धन गर्ने उदेश्यले दैनिक २५ हजारभन्दा बढी दर्शकको सहभागी हुने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

मेहताले प्रतियोगितामा मान्यता प्राप्त खेलकुद प्रशिक्षक र निर्णायकको सहभागीतामा खेललाई प्रतिष्पर्धाका आधारमा खेलाइने गरि सवै कुस्ती खेलाडी तथा खेलकुद क्लबलाई जानकारी गराएकाले दर्शकले इनरुवाको मैदानमा अन्तर्राष्ट्रिय कुस्तीको मज्जा लिन सक्ने दावी गरे ।

प्रतियोगिताका लागि अनुमानित २१ लाख बजेट खर्च हुने बताइएको छ। प्रथमलाई १ लाख १ हजार नगदसहित मेडल, प्रमाणपत्र दोस्रो हुनेलाई ७१ हजार नगद सहित मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई ५१ हजार नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार राखिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका सुनसरी नेता सरोज पोखरेलले इनरुवामा खेलकुद गतिविधि ठप्प भएकाले कुस्ती दंगल प्रतियोगिता आयोजना भएपछि अन्य खेलका गतिविधिसँगै नगरक्षेत्रमा पर्यटन र व्यापार व्यवसाय प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा कुस्तीविज्ञ बाबुराम साह, खेलकुद महासंघका विप्लप घोष, सरोज बस्नेत, राष्ट्रिय युवासंघ नेपालका रमेश आचार्यलगायतको सहभागीता रहेको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया