इटहरी । भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा इटहरीमा ‘बालअधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम संयोजक गोविन्द कोइरालाले पछिल्लो समय बालबालिकामाथि हुने अनलाइन दुर्व्यवहार चिन्ताजनक रूपमा बढिरहेको भन्दै करिब ७५ देखि ८० प्रतिशत बालबालिका कुनै न कुनै रूपमा अनलाइन दुर्व्यवहारको जोखिममा पर्ने गरेको जानकारी दिए।
उनले भ्वाइस अफ चिल्ड्रेनले बाल हेल्पलाइन सञ्चालन गर्दै नेपाल प्रहरीसँग समन्वय गरी जोखिममा परेका बालबालिकाको उद्धार तथा संरक्षणका कार्यहरू गरिरहेको बताए। साथै स्थानीय तह, प्रदेश सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै बालअधिकार संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी पनि दिए।
कार्यक्रममा बालिका मात्र होइन, बालकहरू पनि उल्लेखनीय रूपमा यौन दुर्व्यवहारको सिकार हुने गरेको तथ्य प्रस्तुत गरिएको थियो। अनलाइन माध्यमबाट बालबालिका कसरी विभिन्न प्रकारका यौन शोषण तथा दुर्व्यवहारको जोखिममा पर्ने गरेका छन् भन्ने विषयमा सहभागीहरूलाई सचेत गराउन भिडियो सामग्री समेत प्रदर्शन गरिएको थियो।
पत्रकार अमर खड्का तथा भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम संयोजक गोविन्द कोइरालाले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मीहरूबीच बालअधिकार संरक्षण, जिम्मेवार समाचार सम्प्रेषण तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार माध्यमको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित डिजिटल वातावरण निर्माणका लागि सञ्चारकर्मी, अभिभावक, विद्यालय, स्थानीय सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो