अन्तर्राष्ट्रिय क्षेत्रबाट कोरोना भित्रने खतरा बढ्दै

फाष्ट मिडिया नेपाल संवाददाता
छिमेकी मुलुक भारतलगायत दक्षिण एसियाली देशहरूमा पुनः कोरोना भाइरस(कोभिड–१९) फैलन सुरु भएको छ । थाइल्यान्ड, सिंगापुर, हङकङमा पछिल्लो समय कोरोना भाइरसका केसहरू देखापर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यी मुलुकमा संक्रमितहरूको संख्या बढिरहेका समाचार एजेन्सीहरूले जनाएका छन् । संक्रमण बढेसँगै अस्पतालहरूमा भर्ना हुनेहरूको संख्या पनि बढिरहेको छ । भारतमा पछिल्लो एक सातामा कोरोनाका नयाँ केसहरू देखिन थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ५७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये दुई जना संक्रमितको मृत्यु भएको जनाइएको छ । ती दुवैजना दीर्घकालीन रोगका बिरामी थिए । उनीहरू कोभिड लागेपछि अस्पतालमा भर्ना भएकामा उपचारका क्रममा मृत्यु भएको हो । कोभिड लागेकामध्ये एक जनालाई मुखको क्यान्सर र अर्कोलाई मिर्गौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो ।
विज्ञहरूका अनुसार भारतमा खोपको प्रभाव अब कम हुन थालेको छ । बुस्टर डोजको आवश्यकता फेरि एकपटक बढेको छ तर मानिसहरू लापर्बाही गरिरहेका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढिरहँदा नेपालमा भने सतर्कता नअपनाएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा पनि कोरोना संक्रमण फैलन सक्ने कुनै सचेतना अपनाएको पाइँदैन ।
कोरोनाका कारण सिंगापुरमा उच्च सतर्कता
सिंगापुरमा कोभिड–१९ का संक्रमितको संख्या २८ प्रतिशतले बढेको छ । कोरोना संक्रमण बढेसँगै सिंगापुर सरकारले सरकारले उच्च सतर्कता जारी गरेको छ । कोभिड–१९ का १४ हजार २ सय केस पुगेका छन् । संक्रमितमध्ये अस्पताल भर्ना हुनेको संख्या ३० प्रतिशतले बढेको छ । ५ देखि १९ मेसम्म सिंगापुरमा २५ हजार ९ सय नयाँ संक्रमित भेटिएका छन् ।
सोही अवधिमा अस्पतालहरूमा भर्ना हुने बिरामीको औसत दैनिक संख्या १ सय ८१ बाट बढेर २ सय ५० पुगेको छ । सिंगापुरमा कोरोनाको नयाँ लहर बढेसँगै अबका दुई सातामा संक्रमितको दर झनै बढ्नसक्ने विज्ञहरूले चेतनावनी दिएका छन् । कोरोना संक्रमित बढेसँगै सिंगापुरका स्वास्थ्यमन्त्री ओङ ये कुङले सबै नागरिकलाई खोपको नयाँ चरण सुरु गर्न र बुस्टर डोज लिन अपील गरेका छन् ।
हङकङमा फेरि फर्कियो कोरोना, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित
हङकङमा कोभिड–१९ संक्रमणको नयाँ लहर सुरु भएको छ । कोरोना संक्रमण बढेसँगै वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित बनेका छन् । हङकङको स्वास्थ्य विभागका अनुसार मार्चमा संक्रमित दर १ दशमलव ७ प्रतिशत थियो भने अहिले यो बढेर ११ दशमलव ४ प्रतिशत पुगेको छ । हालसम्म ८१ नयाँ संक्रमित फेला परेको उल्लेख छ । जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा रहेका छन् ।
बैंकक सबैभन्दा बढी प्रभावित
थाइल्यान्डमा कोभिड–१९ का धेरै नयाँ संक्रमित देखिएका छन् । बैंकक पोस्टमा प्रकाशित समाचारअनुसार गत साता ३३ हजार ३० नयाँ संक्रमित भेटिएको उल्लेख छ । यीमध्ये बैंककमा मात्र ६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । यीमध्ये १ हजार ९ सय १८ संक्रमित अस्पतालमा भर्ना भएका छन् ।
बैंककपछि चोनबुरीमा २ हजार ५ सय ७३ संक्रमित भेटिएका छन् । त्यस्तै, रायोङमा १ हजार ६ सय ८० संक्रमित भेटिएका छन् । त्यस्तै, नोन्थाबुरीमा १ हजार ४ सय ८२ जना र समुत प्राकानमा १ हजार ४ सय ४२ जना संक्रमित फेला परेका छन् । पहिले तुलनात्मक रूपमा सुरक्षित मानिने ३० देखि ३९ वर्ष उमेर समूहका युवाहरू अहिले सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।चुलालोङकोर्न विश्वविद्यालयको चिकित्सा संकायकी थिरा वोरातनारतले सोमबार आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै यस रिपोर्टले जनस्वास्थ्य मन्त्रालयको अवस्था चिन्ताजनक नभएको भनाइको विरोध गरेका छन् । उनले भनेका छन्, ‘कोभिड–१९ का नयाँ संक्रमित लगातार ११ सातादेखि तीव्र गतिमा बढ्नु चिन्ताको विषय हो ।’ थाइल्यान्डमा ओमिक्रोनको एक प्रकार एक्सईसी भेरियन्टका कारण हुने घटनामा वृद्धि भएको छ । यो सोङक्रान बिदाको अवधि (१३ देखि १५ अप्रिल)को कारणले हुनसक्ने विज्ञहरूले भनेका छन् । जुन अवधिमा केसहरूको संख्या निरन्तर बढ्यो ।विभिन्न अनलाईनबाट

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया