इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। पर्सी (शुक्रबार) थाइल्यान्डको राजधानी बैंककमा उनीहरूबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) को छैटौं सम्मेलनका अवसरमा ओली र मोदीबीच वार्ता हुने निश्चित भएको परराष्ट्र स्रोतले जानकारी गराएको छ । परराष्ट्र मन्त्री आरजु राणाले भारतीय समकक्षी एस जयशंकरसँग ओली र मोदीबीच भेटवार्ताका लागि विशेष पहल गरेकी थिइन्। परराष्ट्रमन्त्री राणाकै पहलमा दुई देशका प्रधानमन्त्रीबीच शुक्रबार अपरान्ह भेटवार्ता हुने निश्चित भएको स्रोतले बतायो ।
भारतीय समकक्षी एस जयशंकरसँग परराष्ट्रमन्त्री राणाको विशेष पहलमा ओली र मोदीको भेटवार्ताको पहल भएको बताइएको छ । दुई पक्षबीच भएको छलफलले ओली र मोदीबीच शुक्रबार अपरान्ह ‘साइडलाइन वार्ता’ हुने समय निश्चित भएको हो,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने । उनीहरूबीच दुई पक्षीय हितका विषयमा छलफल हुने स्रोतको दाबी छ । ‘नेपाल र भारत सम्बन्धको सुदृढीकरण र आपसी हितका विषयमा छलफल हुने भनिएको छ । अधिकारीका अनुसार एजेन्डाका विषयमा अहिल्यै सबै कुरा निश्चित भएको छैन ।
‘सरकारको निर्णयबमोजिम परराष्ट्रमन्त्रीले भारतीय समकक्षीमार्फत प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिनुभएको छ । भारतीय पक्षले अहिलेसम्म उहाँ (मोदी) आउने नआउने विषयमा कन्फर्मेशन दिएको छैन’
नेपाल सरकारले आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्दैछ । सरकारले उक्त कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा पनि भारतीय प्रधानमन्त्री मोदीलाई दिएको छ ।
परराष्ट्रमन्त्री राणा राइसिना डायलगमा सहभागी हुन गत चैत पहिलो साता नयाँ दिल्ली गएका बेला विदेशमन्त्री एस जयशंकरमार्फत् प्रमुख अतिथिको निमन्त्रणा दिएको स्रोतको भनाइ छ। सरकारले प्रमुख अतिथिको रूपमा मोदीलाई बोलाए पनि उनी आउने नआउने निश्चित भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
’सरकारको निर्णयबमोजिम परराष्ट्रमन्त्रीज्युले भारतीय समकक्षीमार्फत् प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिनुभएको छ। भारतीय पक्षले अहिलेसम्म उहाँ (मोदी) आउने नआउने विषयमा कन्फर्मेशन दिएको छैन,’ स्रोतले अन्नपूर्णसँग भन्यो। प्रधानमन्त्री ओलीले त्यस विषयमा पनि भारतीय समकक्षीसँग छलफल गर्ने बताइएको छ। प्रधानमन्त्री ओली आफैंले सगरमाथा संवादका लागि समकक्षी मोदीलाई आग्रह गर्ने प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते न्युयोर्कमा भेटवार्ता भएको थियो। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री ओली र मोदीबीच करिब आधा घन्टा ’साइडलाइन वार्ता’ भएको थियो । परराष्ट्रमन्त्री राणाको विशेष पहलमै ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता हुन सम्भव भएको थियो ।
त्यतिबेला भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझ गति दिन चाहेको बताएका थिए। उक्त भेटमा ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दामा छलफल भएको दाबी मोदीले एक्समार्फत् जानकारी गराएका थिए। ‘भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं । हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ त्यतिबेला मोदीले भनेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो