परिवर्तनको पक्षमा रास्वपाको उदय, पुराना ठूला दल बढारिने संकेत

खगेन्द्र कार्की

इटहरी । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ। सार्वजनिक भएका प्रारम्भिक मत परिणाम र अग्रताको आधारमा रास्वपाले विभिन्न निर्वाचन क्षेत्रमा उल्लेखनीय अग्रता कायम गर्दै नयाँ राजनीतिक शक्ति रूपमा उदाएको संकेत दिएको छ।

हालसम्मको घोषित परिणामअनुसार रास्वपाले करिब १० स्थानमा जित हासिल गरेको छ भने धेरै स्थानमा प्रतिस्पर्धात्मक अग्रता कायम गरेको छ। पुकार बम, सोविता गौतम, मनिषा झा, दीपक बोहोरा, गणेश पराजुली, आशिका तामाङ, शिशिर खनाल, रञ्जु दर्शना र विराजभक्त श्रेष्ठले विजय हासिल गरेका छन्। तीमध्ये खनाल, दर्शना र श्रेष्ठको आधिकारिक घोषणा भइसकेको छ भने अन्य उम्मेदवारको औपचारिक घोषणा हुन बाँकी छ।

यस्तै प्रारम्भिक रुझानअनुसार रास्वपाले सयभन्दा बढी स्थानमा प्रतिस्पर्धात्मक अग्रता कायम गरेको छ। नेपाली कांग्रेसले एक स्थानमा जित हासिल गरेको छ भने ११ स्थानमा अग्रता लिएको छ। नेकपा (एमाले) १० स्थानमा अग्रस्थानमा देखिएको छ। नेकपाबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल विजयी भइसकेका छन् भने एक स्थानमा अग्रता कायम रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी एक स्थानमा अगाडि देखिएको छ भने अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरू केही क्षेत्रमा प्रतिस्पर्धामा छन्।

विश्लेषकहरूका अनुसार परम्परागत दलप्रति बढ्दो असन्तुष्टि, भ्रष्टाचार नियन्त्रण र सुशासनप्रतिको अपेक्षा तथा नयाँ नेतृत्वको खोजीका कारण मतदाताले वैकल्पिक शक्तितर्फ आकर्षण देखाएका छन्। विशेषगरी युवापुस्ताको सक्रियता, सामाजिक सञ्जालमार्फत भएको प्रचार र परिवर्तनको चाहनाले रास्वपाको लोकप्रियता बढेको मानिन्छ।

२०७२ मा संविधान जारी भएपछि नेपाली कांग्रेस, एमाले र नेकपासहितका दलहरूले आलोपालो सरकारको नेतृत्व गरे पनि जनअपेक्षा अनुसार सुशासन, रोजगारी सिर्जना र सार्वजनिक सेवामा सुधार ल्याउन नसकेको भन्दै आलोचना हुँदै आएको थियो। यही असन्तुष्टि यसपटकको निर्वाचनमा मतदाताको ‘ब्यालेट विद्रोह’का रूपमा देखिएको विश्लेषण गरिएको छ।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी भए पनि प्रारम्भिक रुझानले यसपटकको निर्वाचनमा नयाँ राजनीतिक शक्तिको उदय र परम्परागत दलप्रति जनताको असन्तुष्टि स्पष्ट रूपमा देखिएको टिप्पणी गरिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया