पूर्वीनाकाबाट ३९ करोड ७६ लाखको श्रृंगार सामग्री आयात

खगेन्द्र कार्की

काँकडभिट्टा । आर्थिक वर्ष २०८१/०८२ मा काँकडभिट्टा नाका भएर ३९ करोड ७६ लाख ४० हजार रुपैयाँको श्रृंगारका सामग्री आयात भएको छ । गत आव २०८१÷०८२ मा सो नाकाबाट पाँच करोड ८२ लाख २८ हजार बराबरको स्याम्पु आयात भएको हो । एक लाख ६१ हजार ५११ लिटर स्याम्पु आयात हुँदा पाँच करोड ८२ लाख २८ हजार रुपैयाँ खर्च भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी भन्सार अधिकृत ईश्वरकुमार हुँमागाईंले बताए ।

उक्त स्याम्पुको आयातबाट कार्यालयले तीन करोड ३४ लाख ७४ हजार राजस्व संकलन गरेको उनले बताए । अघिल्लो आव २०८०÷०८१ मा सो नाका भएर ८२ हजार ४४४ लिटर स्याम्पु भित्रँदा दुई करोड ८३ लाख २७ हजार रुपैयाँ खर्च भएको उनले बताए ।

 उक्त स्याम्पु आयात गर्दा एक करोड ६० लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको भनाइ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा स्याम्पु आयात परिमाणमा समेत वृद्धि भएको कार्यालयका सूचना अधिकारी हुँमागाईंले बताए । उनले स्याम्पु आयात वृिद्धका कारण अघिल्लो आवको तुलनामा गत आवमा राजस्वमा समेत एक करोड ७४ लाख बढेको जानकारी दिए ।

सबैभन्दा बढी प्रतिशत राजस्व वृद्धि भएका मुख्यः दस वस्तुमध्ये स्याम्पु दसौं स्थानमा रहेको बताउँदै उनले स्याम्पु आयातबाट राजस्व वृद्धिमा योगदान १०८.८ प्रतिशत रहेको जानकारी दिए । त्यस्तै आव २०८१÷०८२ मा सो नाकाबाट ‘नेल पोलिस’, सिन्दुर, आँखा र ओठका श्रृंगारका वस्तु, पेन्सिल, मार्कर, टुथपेस्ट, सेल्फी स्टिक, पकेट लाइटरजस्ता ६३ हजार २८६ किलोग्राम सामान आयातमा नौ करोड ६२ लाख ८० हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी हुँमागाईंले बताए ।

 ६३ हजार २८६ किलोग्राम श्रृंगारका सामान आयातमा नौ करोड ६२ लाख ८० हजार रुपैयाँ खर्च हुँदा त्यसवापत चार करोड ८९ लाख १९ हजार राजस्व संकलन भएको उनले जानकारी दिए ।

अघिल्लो आवमा सो नाका भएर ३३ हजार ५९५ किलोग्राम श्रृंगारका सामान खरीद गर्दा एक करोड १६ लाख ४१ हजार रुपैयाँ खर्च भएको र त्यसवापत कार्यालयले ६० लाख चार हजार रुपैयाँ राजस्व संकलन गरेको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टा भएर श्रृंगारका सामानको आयात परिमाणमा समेत वृद्धि भएको बताउँदै उनले श्रृंगारका सामानका आयात वृिद्धका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्वमा समेत चार करोड वृद्धि भएको जानकारी दिए ।

आर्थिक वर्ष २०८१÷०८२ मा कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायतका वस्तु आयातमा १६ करोड २० लाख १९ हजार रकम खर्च भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी भन्सार अधिकृत ईश्वरकुमार हुँमागाईंले बताए । आर्थिक वर्ष २०८१÷०८२ मा तीन लाख २० हजार १७७ किलोग्राम कपालमा प्रयोग हुने श्रृंगारका सामान आयात गर्दा आठ करोड ११ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए । पछिल्लो समय दैनिक जीवनमा प्रयोग हुने कपालमा प्रयोग हुने श्रृंगारका सामानको आयातमा ठूलो धनराशी खर्च हुँदा राजस्व संकलनमा समेत वृद्धि भएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया