इटहरी । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा सरकारको एक मात्र म्यान्डेट निर्वाचनकै सवाललाई जोड्दै प्रधानमन्त्रीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्नेमा दायित्व आफ्नो रहेको उल्लेख गरिन् ।
सो भेटमा प्रधानमन्त्री कार्कीले अभियन्ता प्रसाईंका कैयौँ माग जनताका पक्षमा, जनजीविकाका सवालमा रहेकाले तिनलाई सम्बोधन गर्न सरकार आतुर रहेको र गृहकार्य भइरहेको स्पष्ट गर्दै आफ्ना असन्तुष्टि र माग मुद्दाहरू शान्तिपूर्ण तरिकाले राख्न समेत अनुरोध गरिन् ।
राजनीतिक अस्थिरतासहित अन्योल र अशान्तिको अवस्थाबाट देशलाई निकास दिन प्रतिनिधि सभाको सदस्यका लागि निर्वाचन हुन आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई सफल बनाउने राष्ट्रिय अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गरिन् ।
मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन् ।
“धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई अहिलेको अवस्थामा ल्याएका छौँ, सम्बद्ध सबै पक्षको साथ सहयोगमा तोकिएको मितिमा निर्वाचन सम्पन्न गराएर देशलाई राजनीतिक निकास दिन अहोरात्र खटिएका छौँ,” उनले भनिन, “सबै किसिमका संशयलाई चिर्दै मुलुक निर्वाचनको माहोलमा होमिएको छ । यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ र सक्रिय रूपमा सहभागी भई निर्वाचनलाई सफल बनाऔँ ।”
“हामी पनि न्यायका पक्षधर हौँ, सत्ताभोग र सुखसयल गर्न सरकारमा आएका होइनौँ । भ्रष्टाचारको अन्त्य, शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ । सबै कामको नतिजा रातारात नदेखिए पनि आधारशिला तयार गरेका छौँ । तपाईंले उठाउनुभएका कतिपय माग, मुद्दा सम्बोधनका पक्षमा सरकार रहेको स्पष्ट गर्दछु उनले भनिन । अझैं थप छलफल गर्दै जाऔँला, सरकार सदैव यहाँहरूकै साथमा छ,” प्रधानमन्त्री कार्कीले प्रसाईलाई आश्वस्त तुल्याउँदै भनिन ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो