हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीका युवकको मृत्यु
खगेन्द्र कार्की
१७ जेठ २०८३, अाईतबार १०:४३ मा प्रकाशित
858
दुहबी । सुनसरीको दुहबीमा गएको मंगलबार राति आएको हावाहुरीका कारण उडेर आएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा दुहबी नगरपालिका–४ का २८ वर्षीय मोहम्मद जाहिदको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति करिब १० बजे दुहबी–४ मलहटीस्थित भित्री सडकखण्डमा बूढीगंगाबाट दुहबीतर्फ जाँदै गरेको को २९ प ८५४६ नम्बरको मोटरसाइकलमा वर्षासँगै आएको तीव्र हावाहुरीले उडाएर ल्याएको जस्तापाता ठोक्किएको थियो। जस्तापाता ठोक्किएपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक जाहिद गम्भीर घाइते भएका थिए।
घटनाबारे स्थानीयले राति १०ः३० बजे इलाका प्रहरी कार्यालय दुहबीलाई जानकारी गराएपछि असई पुखमान कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते जाहिदलाई तत्काल उद्धार गरी उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जाहिदको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ। दुर्घटनामा परेको मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भई चल्न नसक्ने अवस्थामा पुगेपछि स्थानीयको घरमा सुरक्षित राखिएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब डेढ किलोमिटर उत्तर–पूर्वमा पर्ने प्रहरीले जनाएको छ। इन्स्पेक्टर शिवराम थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
मंगलबार रातिको हावाहुरीले पूर्वी तराईका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनाएको थियो। सोही क्रममा उडेर आएको जस्तापाताले मोटरसाइकलमा ठक्कर दिँदा भएको यो दुर्घटनाले एक युवकको ज्यान गएको हो।