काठमाडौं । श्रीमती ईश्वरी भुजेलको हत्या प्रकरणमा जिल्ला अदालत काठमाडौंले उनका पति कुमार थापा मगर र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। थुनछेक बहसपछि बिहीबार अदालतले दुवैलाई केन्द्रीय कारागार सुन्धारा चलान गर्न आदेश दिएको हो।
प्रहरी अनुसन्धानअनुसार अवैध प्रेम सम्बन्धका कारण भएको विवाद अन्ततः हत्यासम्म पुगेको निष्कर्षसहित अदालतमा अभियोग दायर गरिएको थियो। सोही अभियोगमा प्रतिवादी बनाइएका चार जनामध्ये कुमार र प्रतीक्षालाई थुनामा पठाइएको हो भने कुमारका भाइ विक्रम थापा मगर र पुजन थापा क्षेत्री एक–एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
अनुसन्धानका क्रममा कुमार र प्रतीक्षाले एकअर्कासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका थिए। प्रहरीले अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा प्रतीक्षाले कुमारलाई ‘पहिले श्रीमतीको हत्या गर, त्यसपछि सँगै बसौं’ भनेको आरोपसमेत उल्लेख गरिएको छ। प्रहरीले यसलाई घटनाको एउटा महत्वपूर्ण आधार मानेर अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानबाट सार्वजनिक विवरणअनुसार ईश्वरीले लामो समयदेखि पति र प्रतीक्षाबीचको सम्बन्धको विरोध गर्दै आएकी थिइन्। उनले पटक–पटक प्रहरीमा उजुरी दिएकी थिइन् भने प्रहरीको पहलमा दुवै पक्षबीच मिलापत्रसमेत भएको थियो। तर त्यसपछि पनि सम्बन्ध नटुटेपछि श्रीमान्–श्रीमतीबीचको विवाद अदालतसम्म पुगेको थियो। सम्बन्धविच्छेद र वैवाहिक बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका बेला पनि तनाव कायमै रहेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार घटनाको दिन जेठ २२ गते बिहान दुवै पक्ष अदालतमा तारेखका लागि पुगेका थिए। साँझ ईश्वरीमाथि धारिलो हतियार प्रहार भएको अवस्थामा उनलाई पैयुटार क्षेत्रमा फेला पारिएको थियो। उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो। घटनापछि प्रहरीले सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा कुमारलाई पक्राउ गरेको थियो। उनले बयानका क्रममा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा मृतकका जेठा छोरा जेनिश थापाको बयान पनि महत्वपूर्ण प्रमाण बनेको छ। उनले बाबु–आमाबीच केही वर्षदेखि निरन्तर विवाद हुँदै आएको र त्यसको प्रमुख कारण बाबुको प्रेम सम्बन्ध रहेको बताएका छन्।
जेनिशको बयानअनुसार उनले बाबुको सामाजिक सञ्जालमार्फत प्रतीक्षासँगका तस्बिर र भिडियो फेला पारी आमालाई देखाएका थिए। करिब सात–आठ महिनाअघि बाबुले प्रतीक्षासँग फोनमा कुरा गरिरहेको बेला ‘पहिले श्रीमतीलाई मार, त्यसपछि म घरमा आउँछु’ भन्ने आशयको संवाद आफूले सुनेको पनि उनले प्रहरीसमक्ष बताएका छन्। यो विवरण अनुसन्धान प्रतिवेदनमा समावेश गरिएको छ।
प्रहरीले विक्रम थापा मगरले समेत कुमारलाई श्रीमतीविरुद्ध उक्साएको आरोप अनुसन्धानमा समेटेको छ। अनुसन्धानका क्रममा ईश्वरीमाथि यसअघि पनि पटक–पटक कुटपिट भएको, ग्यास सिलिन्डर पड्काएर मार्ने प्रयास गरिएको तथा निरन्तर धम्की दिने गरेको विवरणसमेत खुलेको छ।
जेनिशका अनुसार वैवाहिक बलात्कार मुद्दामा धरौटीमा छुटेपछि पनि कुमार घरमा आएर परिवारलाई धम्क्याउने, अदालतमा रहेका मुद्दा फिर्ता लिन दबाब दिने तथा छुट्टिएर बस्दा पनि हत्या गर्ने धम्की दिने गर्थे। प्रहरीको पहलमा कुमार छुट्टै र ईश्वरी तथा उनका दुई छोरा छुट्टै बस्ने सहमति भए पनि विवाद अन्त्य भएको थिएन।
घटनाको दिन साँझ कुमार घर पुगेर कान्छा छोरालाई लैजान खोजेपछि परिवारमा फेरि तनाव बढेको थियो। त्यसको केही समयपछि ईश्वरीसँग सम्पर्क हुन छाड्यो। खोजीका क्रममा अपरिचित व्यक्तिले उनको मोबाइल उठाएर रगताम्य अवस्थामा सडकमा लडिरहेको जानकारी दिएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो।
आमाको हत्या बाबुले गरेको आशंकामा परिवारले तत्काल कुमारसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। त्यसपछि उनले मोबाइल बन्द गरेका थिए। घटनास्थल आसपासका सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा प्रहरीले त्यही रात कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा कुमारले प्रेम सम्बन्धका कारण श्रीमतीसँग निरन्तर विवाद भएको, अदालतमा रहेका मुद्दा फिर्ता लिन नमानेपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। प्रतीक्षाले पनि कुमारसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
ईश्वरीको हत्या भएपछि सँगै जीवन बिताउने योजना बनाएको आरोप खेपिरहेका कुमार र प्रतीक्षा अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्। अब अन्तिम फैसला नआउँदासम्म उनीहरू थुनामै रहनेछन्, अदालतले अन्यथा आदेश नदिएसम्म।
१९ असार २०८३, शुक्रबार ०८:४८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो