इटहरी मेयर कप क्रिकेट प्रतियोगितामा विराटनगरको च्याम्पियन ह्याट्रिक

खगेन्द्र कार्की

इटहरी । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले लगातार तेस्रो पटक उपाधि उचाल्दै ह्याट्रिक गरेको हो । 
यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि समेत विराटनगरले नै जितेको थियो । उक्त दुबै संस्करणको फाइनलमा विराटनगरले इटहरी उपमहानगरलाई पराजित गरेको थियो ।
इटहरीस्थित डीभीएम स्कुल परिसरको खेल मैदानमा विराटनगर महानगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । 
विराटनगरका लागि कृतिक कामतले अविजित ५६ रनको उत्कृष्ट इनिङ खेले । ४५ बलको सामना गरेका उनले ४ छक्का र ३ चौका प्रहार गर्दै ५६ रनमा अभिजित रहे । 
कप्तान फिरदोस अन्सारीले २३ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५१ रनको अद्र्धशतकीय इनिङ खेले । दीपक पासवानले ३२ रनको योगदान दिंदा विराटनगरले अतिरिक्त २० रन पाएको थियो । 
१ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कटहरी गाउपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो । कटहरीका ब्याटरहरूले संघर्षपूर्ण प्रदर्शन गरे पनि लक्ष्य भेट्टाउन सकेनन् । 
कप्तान लब कामतले ८ चौकाको मद्दतमा ४९ रनको योगदान दिए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । 
रुद्र प्रताप शाहले २९ रन बनाउँदा दिपु भुजेलले १३, निर्देश बस्नेतले १२ र अभय कामतले ११ रन बटुले । 
विराटनगरका श्रवण किस्कू, अमर यादव र श्रवण यादवले २–२ विकेट लिए । 
प्लेयर अफ द फाइनल विराटनगरका कप्तान फिरदोस अन्सारी घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट  बलर विराटनगरका दिपेश कंडेल घोषित भए । 
उनले सर्वोत्कृष्ट खेलाडी बनेबापत ७ हजार रुपैयाँ तथा उत्कृष्ट बलर बनेबापत थप ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर कटहरीका लब कामत घोषित भए । प्रतियोगिताभर १ सय १४ रन बनाएका उनले ४ हजार रुपैयाँ नगद पुरस्कार पाए । 
उपाधिसँगै विजेता विराटनगर महानगरपालिकाले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता कटहरी गाउँपालिकाले ४० हजार रुपैयाँ पायो । 
इटहरी उपमहानगरपालिकाको संयोजनमा सम्पन्न प्रतियोगिताको बिजेता तथा उपबिजेता टोलीलाई कोशी प्रदेशका सामाजिक बिकास मन्त्री रामप्रसाद मेहता र राष्टिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार बिष्टले पुरस्कार बितरण गरे । 
आइडियल स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ वटा पालिकाका टोलीहरूको सहभागिता रहेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया