घरको खानेपानी ट्याङ्कीभित्र एकैपटक २७ वटा सर्पका बच्चाहरू फेला

zCqnQYsJJSU

एजेन्सी । भारतको उत्तराखण्डस्थित हरिद्वारमा एउटा घरको खानेपानी ट्याङ्कीभित्र एकैपटक २७ वटा सर्पका बच्चाहरू फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।

हरिद्वारको जगजीतपुर क्षेत्रमा पर्ने राजा गार्डेनस्थित एक आवासमा सोमबार खानेपानी सफा गर्ने क्रममा उक्त ठूलो संख्यामा सर्पहरू फेला परेका हुन् ।

घरधनीले ट्याङ्कीभित्र अनौठो हलचल र सर्पका बच्चाहरू तैरिरहेको देखेपछि तुरुन्तै वन विभाग र स्थानीय सर्प उद्धारकर्ता (स्नेक रेस्क्यु टिम) लाई खबर गरेका थिए ।

जिल्ला वन विभागको टोलीसहित पुगेका वन्यजन्तु विशेषज्ञ तथा सर्प उद्धारकर्ता अमित शर्माले करिब एक घण्टाको प्रयासपछि ट्याङ्कीभित्र रहेका सबै २७ वटा सर्पका बच्चाहरूलाई सकुशल बाहिर निकाल्न सफल भएका थिए ।

उद्धार गरिएका ती बच्चाहरू ‘चेकर्ड कीलब्याक’ प्रजातिका सर्प हुन्, जसलाई स्थानीय भाषामा ‘वाटर स्नेक’ वा पानी सर्प पनि भनिन्छ ।

विज्ञहरूका अनुसार यो प्रजातिको सर्प विषालु हुँदैन र यसले मानिसलाई कुनै ठूलो हानि पुर्‍याउँदैन । गर्मी मौसममा ओसिलो र शीतल ठाउँको खोजीमा वा फुल पार्ने सुरक्षित स्थान खोज्दै माउ सर्प ट्याङ्कीभित्र पसेको र त्यहीँ फुल पारेर बच्चाहरू जन्मिएको हुनसक्ने अनुमान उद्धारकर्ता शर्माले गरेका छन् ।

उद्धार गरिएका सबै २७ वटा सर्पका बच्चाहरूलाई सुरक्षित प्लास्टिकको भाँडोमा राखेर बस्तीभन्दा टाढा रहेको प्राकृतिक वन क्षेत्रमा सकुशल छाडिएको वन विभागले जनाएको छ ।

खानेपानीको मुख्य ट्याङ्कीमै यति धेरै संख्यामा सर्प भेटिएपछि घरपरिवार र वरपरका छिमेकीहरू भने केही समयका लागि निकै भयभीत बनेका थिए । DCNepal

zCqnQYsJJSU
प्रतिक्रिया