हर्बिसाइडको प्रयोग र भविष्यको चिन्ता

Maeve

"From microbes to man, all are affected by chemical herbicides." अर्थात् बिरुवा नष्ट गर्ने रसायनबाट सूक्ष्म जीवदेखि मानिससम्म सबै प्रभावित हुन्छन्। शिक्षा संकाय अन्तर्गत स्नातक दोस्रो वर्षको पाठ्यपुस्तकमा समेटिएको यो भनाइ आजको विश्वका लागि अत्यन्त सान्दर्भिक र दूरदर्शी चेतावनी हो। यसले हर्बिसाइडको बढ्दो प्रयोगले वर्तमान मात्र होइन, मानव सभ्यताको भविष्यसमेत जोखिममा पार्न सक्ने संकेत गर्छ।
विज्ञान र प्रविधिको विकासले मानव जीवनलाई सहज, सुरक्षित र समृद्ध बनाएको छ। चिकित्सा, सञ्चार, कृषि, उद्योग र यातायातमा भएका आविष्कारले मानव सभ्यतालाई अभूतपूर्व उचाइमा पुर्‍याएका छन्। तर विज्ञानको अर्को पाटो पनि उत्तिकै भयावह छ। हिरोसिमा र नागासाकीमा परमाणु बमको प्रयोग, भियतनाम युद्धमा रासायनिक हतियारको प्रयोग तथा सन् १९८४ मा भारतको भोपालमा मिथाइल आइसोसाइनेट ग्यास चुहावटबाट भएको मानवीय विपत्तिले विज्ञानको दुरुपयोग कति विनाशकारी हुन सक्छ भन्ने स्पष्ट देखाएको छ।
यस्तै सन्दर्भमा हर्बिसाइड अर्थात् झारपात नाश गर्ने रसायनको प्रयोगप्रति पनि गम्भीर प्रश्न उठ्न थालेका छन्। अनुसन्धानकर्ताले कृषकलाई झार नियन्त्रणमा सहज बनाउन विकसित गरेका यी रसायन अहिले आवश्यकता भन्दा बढी प्रयोग हुन थालेका छन्। उत्पादन बढाउने र श्रम बचाउने नाममा यसको अन्धाधुन्ध प्रयोगले प्रकृतिको सन्तुलन नै बिगार्न थालेको छ।
विश्वप्रसिद्ध वातावरणविद् रचेल कार्सनले आफ्नो चर्चित निबन्ध Earth's Green Mantle मार्फत हर्बिसाइडको अनियन्त्रित प्रयोगप्रति गम्भीर चेतावनी दिएकी छन्। उनका अनुसार मानिसले प्रकृतिलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्छ, तर त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्ने अधिकार उसलाई छैन। खेतबारी, बगैंचा वा नर्सरीमा उम्रिएका झारपात नष्ट गर्ने क्रममा प्रयोग गरिने हर्बिसाइडले अनावश्यक झार मात्र होइन, उपयोगी वनस्पति, सूक्ष्म जीव र पारिस्थितिक प्रणालीलाई समेत क्षति पुर्‍याउँछ।
झारपातमा आश्रित असंख्य कीरा, मौरी, पुतली र अन्य जीवहरूको अस्तित्व समाप्त हुँदै जाँदा त्यसको प्रत्यक्ष असर परागसेचन, खाद्य श्रृंखला र जैविक विविधतामा पर्छ। प्रकृतिको यही चक्रीय सम्बन्धमा मानव सभ्यता पनि आश्रित छ। एउटा सानो कडी कमजोर हुँदा सम्पूर्ण पारिस्थितिक प्रणाली प्रभावित हुन्छ।
नेपालमा पछिल्ला वर्षहरूमा व्यावसायिक तरकारी खेती तीव्र रूपमा विस्तार भएको छ। उत्पादन बढाउने उद्देश्यले रासायनिक मल र हर्बिसाइडको प्रयोग पनि उल्लेख्य रूपमा बढेको छ। तत्कालका लागि उत्पादन बढे पनि यसको दीर्घकालीन असर माटोको उर्वराशक्ति, जलस्रोत, जैविक विविधता तथा मानव स्वास्थ्यमा देखिन थालेको छ। किसानहरू छाला, श्वासप्रश्वास, स्नायु तथा क्यान्सरजस्ता गम्भीर रोगको जोखिममा पर्दै गएका छन्।
रचेल कार्सनले विशेष रूपमा २,४-डी (2,4-D) नामक हर्बिसाइडको उदाहरण दिँदै यसले माटोको जैविक प्रक्रियामा परिवर्तन ल्याएको र त्यसको असर वनस्पति हुँदै जनावरसम्म पुगेको उल्लेख गरेकी छन्। पछि यस रसायनको विषाक्त प्रभाव प्रमाणित भएपछि धेरै देशहरूले यसको प्रयोगमा कडाइ गरेका छन्। यसले वैज्ञानिक अनुसन्धानले समयमै चेतावनी दिए पनि मानवले त्यसलाई बेवास्ता गर्दा प्रकृतिले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने देखाउँछ।
प्रकृतिको हरियाली केवल सौन्दर्यको विषय होइन, मानव अस्तित्वको आधार हो। घाँसे मैदान, झाडी, वनस्पति, मौरी, पुतली र अन्य सूक्ष्म जीवहरूको संरक्षण नै वातावरणीय सन्तुलनको आधार हो। यदि हामीले उत्पादनको लोभमा प्रकृतिलाई विनाश गर्दै जाने हो भने त्यसको प्रत्यक्ष असर अन्ततः मानव समाजमै पर्नेछ।
त्यसैले हर्बिसाइडको प्रयोग पूर्ण रूपमा बन्द गर्न नसकिए पनि यसको वैज्ञानिक, सन्तुलित र आवश्यक मात्र प्रयोग हुनुपर्छ। जैविक खेतीलाई प्रोत्साहन, प्राङ्गारिक मलको प्रयोग, किसानलाई सचेतना तथा सुरक्षित कृषि प्रणालीको विकास आजको आवश्यकता हो। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, नीति निर्माता र किसान सबैले यस विषयमा समान रूपमा गम्भीर हुन आवश्यक छ।
प्रकृतिमाथिको हस्तक्षेपले क्षणिक लाभ दिन सक्छ, तर दीर्घकालीन रूपमा मानव सभ्यतालाई नै संकटमा पार्न सक्छ। त्यसैले पृथ्वीको हरियो आवरण जोगाउनु भनेको हाम्रो भविष्य जोगाउनु हो। हर्बिसाइडमुक्त वा कम रसायन प्रयोग हुने कृषि प्रणालीतर्फ अघि बढ्नु नै दिगो विकास, स्वस्थ वातावरण र सुरक्षित भविष्यको बुद्धिमानीपूर्ण बाटो हो।

Maeve
प्रतिक्रिया