दमकको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सेवा समाज प्रभागमा विश्व वातावरण दिवस

खगेन्द्र कार्की

दमक/ विश्वव्यापी प्लाष्टिक प्रदुषणको अन्त्य नाराका साथ दमक ५ मा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र समाज सेवा प्रभागले विश्व वातावरण दिवस बिहीबार मनाएको छ । ब्रम्हाकुमारी सेवा केन्द्र सञ्चालिका ब्रम्हाकुमारी सविता दिदीको अध्यक्षतामा सेवा केन्द्रको सभाहलमा आयोजना गरिएको थियो ।

दमक नगर पालिका वडा नम्बर २ का वडा अध्यक्ष श्री प्रजापति सापकोटाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा डा. सूर्यनारायण साह, डाक्टर सजेश श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो । यसैगरी अन्तर्राष्ट्रिय मानव अधिकार नेपाल ग्रुप ७५ का संयोजक प्रेमबहादुर बस्नेत, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका जग्गादाता राम श्रेष्ठ, विभिन्न टोल विकासका अध्यक्षहरु, समाजका लब्ध प्रतिष्ठित समाजसेवी तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा २ नम्बर वडाअध्यक्ष सापकोटाले विश्व वातावरण दिवस केवल मनाउनुको मात्र अर्थ केही छैन यसलाई व्यावहारिक जीवनमा प्रत्यक्ष रुपमा हामीले आफ्नो जीवनदेखि लागू गर्नुपर्दछ । त्यसको लागि सकारात्मक चिन्तन, स्वच्छ आहारविहार, आफ्नो घर सडक, पेटी, गाउँ आफै सफा राख्नुपर्छ तब मात्र वातावरण स्वच्छ र समृद्ध हुने र वातावरण दिवसको सार्थकता झल्किने बताए ।

यसैगरी, विशिष्ट अतिथि डाक्टर शाहले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले वातावरणको संरक्षण र सम्बर्धनमा गरेको महत्वपूर्ण कार्यको प्रशंसा गर्दै यस संस्थाले प्रदान गर्ने ज्ञान तथा राजयोग ध्यानले मानवको मन मस्तिष्कलाई  स्वच्छ बनाउने मात्र नभएर यसले हाम्रो व्यावहारिक एवं सामाजिक जीवन शैली कार्य व्यवहार  हरेक क्षेत्रमा स्वच्छता प्रदान गरेको कुरा सबैलाई अवगत गराउँदै आफूले पनि नजिकबाट अनुभव गरिरहेको सुनाए ।

कार्यक्रमको अध्यक्षता गरिरहेकी  ब्रम्हाकुमारी सविता दिदीले हामी मानवको क्रियाकलापले प्रकृतिका सम्पूर्ण प्राणीहरूको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार हनन नगरौँ । बरु वातावरणको संरक्षण र सम्बर्धन गरी सबैको जीवनको रक्षा गर्ने दायित्व सबैले आ–आफ्नो स्थानबाट बहन गरौँ भन्ने सन्देशात्मक अभिव्यक्ति दिएकी थिईन् । अर्का अतिथि बस्नेतले संस्थाको संक्षिप्त परिचय तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । साथै व्यक्तिको आचरण सुधार्ने, वातावरणको स्वच्छताको क्षेत्रमा यस ब्रह्मकुमारीज संस्थाले गरेको क्रियाकलाहरुको सबैलाई जानकारी गराए ।  सो कार्यक्रम कार्यक्रमको सञ्चालन ब्रह्माकुमार विवेक अधिकारीले गरेका थिए । सो कार्यक्रममा गमलामा विरुवा रोपिएको थियो ।  

खगेन्द्र कार्की
प्रतिक्रिया