फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । पछिल्लो समयमा पेट्रोल विश्वकै लागि चुनौतिपूर्ण बनिरहेको बेला नेपालका लागि झनै जटिल बन्दै गईरहेको छ । आायतनिर्यातको हिसाबले नेपालमा पेट्रोलियम पदार्थमा ठूलो धनराशी बाहिरिएको छ भने अर्कोतिर वातावरणीय प्रदुषणले विभिन्न रोगहरु भित्र्याईरहेको सन्दर्भमा यातायातका साधनमा पेट्रोलियम पदार्थको विकल्पको खोजि भईरहेको छ । नेपाल जलस्रोतको धनी देश र विद्यूत व्यापारमा प्रवल सम्भावना देखिएकोले अब विद्यूतबाट चल्ने गाडी बनाउनुपर्छ भन्ने आवाजलाई वागमती प्रदेश सरकारले सुरु ग¥र्यो ।
जहाँ इच्छा त्यहाँ उपाय भने झै जहाँ खोज त्यहाँ नयाँ सोच र समाधान अवश्य भेटिन्छ । युवाहरुमा भएको प्राविधिक सिप जीवन निर्वाहको मात्रै हैन, समयसापेक्ष राष्ट्रकै लागि योगदान समेत बन्न सक्छ भन्ने उदाहरण बागमती प्रदेशका ४ जना युवाहरुले प्रमाणीत गरेका छन् ।
प्रदेश सरकारले २० वर्ष पुरा भएको सवारीलाई विस्थापन गर्ने नीति लिएको बेला उनीहरुले त्यही पुरानो गाडीलाई विद्युतीय सवारीको रुपमा मोडिफाइ गरेर नयाँ बनाएका छन् । जुन कामै नलाग्ने गडीलाई कम्तिमा १५ वर्ष चल्न सक्ने बनाइएको छ ।प्रदेश सरकारको लगानीमा चारजना युवाले २० वर्ष पुरानो गाडीलाई विद्युतीय गाडीमा परिणत गरेका हुन्।
मेकानिकल इन्जिनियरिङमा स्नात्तक गरेका युवा विद्यार्थीहरु दीपेश बुडाथोकी, बसन्त आले, अभिषेकराज नकर्मी र रविन्द्र श्रेष्ठले इन्धनबाट २० वषसम्म चलेका सवारीलाई विद्युतीय सवारीमा परिणत गरेका हुन्। बागमती प्रदेश सरकारले युवा पुस्तालाई वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्धेश्यका साथ सामाजिक विकास मन्त्रालयमार्फत् आर्थिक वर्ष २०७५–७६ मा यो कार्यक्रम ल्याएको थियो । यो कार्यक्रममार्फत नै ती युवाले पुराना पेट्रोल तथा डिजेलका सवारीलाई इलेक्ट्रोनिक भेहिकल “इभी” मा परिणत गरेका हुन्।
सामाजिक विकास मन्त्रालयले उनीहरुलाई १९ लाख ९० हजार रकममा सझौता गरेको थियो। रकम अपुग भएपछि युवाहरुले आफूहरुको लगानी समेत थपेर पुरानो सवारीलाई ‘इभी’मा परिणत गरे जसको कुल लागत २६ लाख पुगेको युवा इञ्जिनियरहरुको छ । उक्त विद्युतीय गाडीमा एक पकट चार्ज गरिसकेपछि १ सय किलोमिटर गुड्ने बताइएको छ। एकपट चार्ज गर्दा १५० देखि २०० रुपैयाँ सम्म खर्च लाग्नेछ ।
उनीहरुलाई प्रदेश सरकारले ७ मंसिर २०७७ मा एक वर्षमा काम गर्नको लागि सम्झौता भएको थियो। उनीहरुले २०७९ भदौमा काम सकेका छन् । भौतिक पूर्वाधार निर्माण जस्तै तोकिएको समयमा उनीहरुले पनि कार्य सम्पन्न गर्न सकेनन्, कारण थियो प्राकृतिक विपत्ति । उनीहरुले प्रदेश सरकारसँग संझौता गरे लगत्तै कोरोना महामारी सुरु भयो । लकडाउनको कारण आवश्यक सामन ल्याउन सकिएन। चीनबाट सामान ल्याउनुपर्ने तर महामारीका कारण उडान ठप्प भयो । “हामीले काम नै ढिला गरेर काम सुरु गर्नुपर्ने भयो” श्रेष्ठले भने । इन्जिनियर बसन्त आलेका अनुसार कोरोना कहर कम भएपछि उनीहरुले सवारी निमार्णको काममा सफ्तार बढाएका थिए ।
उनीहरुले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको पुरानो इन्जिन झिके । विद्युतीय सवारीमा परिणत गर्ने प्रक्रिया सुरु गरे । आलेका अनुसार इभीमा परिणत गाडीमा २० किलोवाटको मोटर राखिएको छ भने त्यसको रेन्ज १२० किलोमिटर रहेको छ। ५ वटा गेर भएको सवारीमा ४५ डिग्रीको ग्रेडिएन्टमा पनि गुड्न सक्ने बनाएका छन् ।
जतिसुकै पुराना भइसकेका पेट्रोल वा डिजल इन्जीनका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न सक्ने ति युवाहरुको दावी छ। इन्जिनियर दीपेश बुढाथोकीले भने एक वर्षमा ६० हजार पेट्रोल गाडी रुपान्तरण गर्दा ३ वर्षमा ३४ अर्ब ५७ करोड २० लाख रुपैयाँ सरकारलाई नाफा हुने सुनाए । २०७९ साल भदौमा नै काम सम्पन्न भए पनि निर्वाचनका लागि गाडी सार्वजनिक कार्य रोकिएको थियो।
थप अनुसन्धान जारी
बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको पालामा प्रदेश सरकारले युवा पुस्तालाई वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम ल्याएको थियो । युवालाई खोज तथा अनुसन्धानमा सघाउने उद्धेश्यका साथ विभिन्न ५ विधामा अनुसन्धान जारी राखेको छ । युवामार्फत ५ प्रकारका नयाँ विषयमा अध्ययन तथा अनुसन्धान जारी राखेको हो ।
सरकारले विज्ञानसम्बन्धी नयाँ विषयमा अध्ययन अनुसन्धान गर्ने योजना र जानकारी भएका युवालाई नवप्रवर्तनमा लाग्न प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको छ । बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत् आर्थिक वर्ष २०७५–७६ बाट यो कार्यक्रम ल्याएको थियो। प्रदेश सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेटमा यो कार्यक्रम प्रस्तुत गरे पनि कार्यविधि र कानूनको अभावका कारण काम गर्न ढिलाई भएको छ।
पछिल्लो पटक रातो च्याउ, दाँतको तेस्रो विधि, थोरै स्थानमा धेरै माछा पालन, जडिबुटीमा पाइने रसायनिक तत्वको खोजी र पेट्रोल तथा डिजेलका सवारीलाई विद्युतीय सवारीमा परिणत गर्ने परियोजनामा काम सुरु भएको थियो । यि मध्ये दाँतको तेस्रो विधि र पेट्रोल तथा डिजेलका सवारीलाई विद्युतीय सवारीमा परिणत गर्ने परियोजना सम्पन्न भएको छ । थोरै स्थानमा धेरै माछा पालन परियोजना अन्तिम चरण पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
करिब एक वर्ष लगाएर युवा वैज्ञानिक प्रोत्साहन समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम लागू गरेको सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले बताए। कार्यविधि स्वीकृत भएपछि पहिलोपटक खोज तथा अनुसन्धान कार्य गर्न इच्छुक व्यक्तिबाट आवेदन माग गर्दै मन्त्रालयले सूचना गरेको थियो । पहिलो चरणमा प्राप्त भएका आवेदनलाई पुनःअध्ययन गरि केहीलाई प्रस्ताव पुनःलेखनका लागि पठाइएको उनले बताए । तर, उनीहरुमध्ये कसैको पनि प्रस्ताव पुनःलेखन गरि न ल्याएपछि मन्त्रालयले दोस्रो पटकको सूचना जारी ग¥यो। सूचना अनुसार प्रदेशभरबाट १०२ वटा प्रस्ताव प्राप्त भएको छ ।
ती प्रस्तावलाई समितिले अध्ययन गरि उपयुक्त लागेका प्रस्तावमा आवश्यक सुधार गरि थप अध्ययनका लागि विज्ञसमक्ष पठाएइको छ । विज्ञबाट थप सुधार गरि प्राप्त भएका ५ वटा प्रस्तावलाई अनुसन्धानका लागि मन्त्रालयले स्वीकृति दिए अनुसार आवश्यक बजेटसहित अनुमति प्रदान गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्दै हाल ५ वटा विषयमा अनुसन्धान गरिएकामा दुईवटा योजना सम्पन्न भएको छ ।
छैन कानुनी मान्यता
२०७८ साल चैत १४ गते राजपत्रमा प्रकाशित सूचना अनुसार सवारीलाई वातावरणमैत्री विद्युतीय सवारी साधनमा रुपान्तर गर्न सकिने उल्लेख छ। तर, स्पष्ट कानूनको अभावमा यातायात कार्यालयले रुपान्तरित सवारी साधन दर्ता गर्न सकेको छैन। त्यसैगरि हाल २० वर्ष भन्दा पुराना सार्वजनिक सवारी साधनको दर्ता खारेज गर्ने भनिएको छ। जसकारण पनि पुराना गाडीलाई “इभी” बनाउँदा दर्ता नहुने खतरा पनि छ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोषको व्यवस्था गरिएको छ। विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोषको स्थापना गर्न कानुनी र संस्थागत व्यवस्था गरिने सरकारको नीति छ ।
प्रदेश सवारी तथा यातायात नीति तर्जुमा गरिनुका साथै प्रदेशका प्रमुख शहर र लोकमार्गमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सहितको एकीकृत स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर सञ्चालनमा ल्याइने प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेटिएको छ।
पेट्रोलियम पदार्थमा रहेको अत्यधिक परनिर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने र इन्धनबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने कार्यलाई प्रोत्साहन गर्न नीतिगत व्यवस्था मिलाइने सरकारको नीति छ।
सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको कार्यक्रम कार्यान्वयनमा आए पुरानो पेट्रोल तथा डिजेलका सवारीलाई विद्युतीय सवारीमा परिणत गर्न सहज हुने इन्जिनियरहरु बताउँछन्। यसो भएको खण्डमा प्रदेश सरकारकै सहयोगमा“इभी” मा परिणत सवारीले पनि मान्यता पाउन सक्छ।
बागमती प्रदेशका सरकारले २० पुराना सवारीलाई नष्ट नगरी त्यसलाई “मोडिफाई” गरेर विद्युतीय सवारीमा परिणत गर्न सकिने बताउँदै आएको छ, तर नीति छैन । पुराना सवारीको इन्जिन झिकेर मोटर र ब्याट्री प्रयोग गर्दा अर्को १५ वर्षसम्म चल्न सक्ने भएकोले यसलाई प्रोत्साहन गर्न प्रदेश सरकारले कानुन निर्माण गर्ने योजना बनाएको मुख्यमन्त्री शालिकराम जमकट्टेले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो