इटहरी । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल, विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय छलफल तथा त्यसपछिको औपचारिक पत्राचारपछि गाभीले यस्तो निर्णय गरेको हो।गाभीले नेपाललाई पठाएको पत्रमा विश्व स्वास्थ्य सभाका अवसरमा भएको भेटवार्ता, त्यसपछिको पत्राचार र नेपालले ४ जुन २०२६ मा पेश गरेको समाधान प्रस्तावका आधारमा रकम फिर्ता नलिने निर्णय गरिएको उल्लेख गरिएको छ। यद्यपि, यो व्यवस्था नेपालका लागि विशेष र एकपटकका लागि गरिएको स्पष्ट गर्दै भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा लिन नसकिने गाभीले जनाएको छ।यो विवाद गाभी सहयोगमा सञ्चालित कार्यक्रमको विशेष लेखापरीक्षणसँग सम्बन्धित थियो। नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी ढाँचामा हस्ताक्षर भएपछि सञ्चालन भएका कार्यक्रमको व्यवस्थापन तथा वित्तीय प्रणालीको समीक्षा गर्न सन् २०२२ मा विशेष लेखापरीक्षण गरिएको थियो। उक्त लेखापरीक्षणले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको अवधिलाई समेटेको थियो।लेखापरीक्षण टोलीले स्वास्थ्य सेवा विभागसहित २२ वटा कार्यान्वयन निकायको स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो। प्रारम्भिक प्रतिवेदनपछि नेपालले आवश्यक वित्तीय कागजात र अभिलेख संकलन गरी पुनः परीक्षणको अनुरोध गरेको थियो। त्यसअनुसार गाभीको टोली सन् २०२४ अप्रिल २२ देखि मे १ सम्म नेपाल आएर ‘फलोअप’ लेखापरीक्षण सम्पन्न गरेको थियो।पुनः परीक्षणपछि गाभीले १३ नोभेम्बर २०२४ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै तीन लाख आठ हजार २७१ अमेरिकी डलर सम्बन्धमा नेपालको प्रतिबद्धता र भुक्तानी योजना माग गरेको थियो। त्यसपछि यस विषयलाई समाधान गर्न स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विश्व स्वास्थ्य सभाका क्रममा गाभी नेतृत्वसँग प्रत्यक्ष छलफल गरेकी थिइन्। त्यसको निरन्तरतास्वरूप नेपालले औपचारिक समाधान प्रस्ताव पेश गरेपछि गाभीले रकम फिर्ता नमाग्ने र भविष्यमा उपलब्ध हुने गाभी ६.० सहयोगबाट समायोजन गर्ने निर्णय गरेको हो।गाभीले आफ्नो पत्रमा नेपालको राष्ट्रिय खोप कार्यक्रमप्रतिको प्रतिबद्धता, खोप सेवाको विस्तार, वित्तीय व्यवस्थापनमा सुधार, लेखापरीक्षणका सुझाव समयमै कार्यान्वयन गर्ने प्रयास तथा कार्यक्रम सञ्चालनमा देखिएको प्रगतिप्रति प्रशंसा पनि व्यक्त गरेको छ। साथै, नेपालसँगको दीर्घकालीन सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाएको छ।हालसम्म गाभीले नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको सुरुआत तथा विस्तार, कोल्ड चेन प्रणाली सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनमा महत्वपूर्ण योगदान पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गाभीको पछिल्लो निर्णयले नेपाल–गाभी साझेदारीलाई थप सुदृढ बनाउने, राष्ट्रिय खोप कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने तथा आगामी स्वास्थ्य कार्यक्रम सञ्चालनमा समेत सकारात्मक सहयोग पुग्ने विश्वास गरिएको छ।
९ साउन २०८३, शनिवार ०२:३३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो