फामिने संवाददाता
इटहरी । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकारलाई नीतिगत रुपमै व्यवस्थापन गर्न आफु लागि परेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् ।
मन्त्री भए पश्चात पहिलो पटक गृह जिल्ला सुनसरी आएकी चौधरीलाई स्थानीय जनताले विराटनगर विमानस्थलदेखि नै भब्य स्वागत सम्मान गरे । चौधरीले गृह क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र लैङ्गिक अल्पसंख्यक नागरिकका सवालमा धेरै कामहरु गर्नुपर्ने भएतापनि मन्त्रालयसँग सिमित बजेट हुँदा काम गर्न चुनौति देखिएकाले आफुले ग्रास रुटबाटै काम गर्न मन्त्रालयको स्टक्चर नै परिवर्तन गर्न चाहेको बताइन् ।
‘५१ प्रतिशत महिला, १५ प्रतिशत ज्येष्ठ नागरिक, २० प्रतिशत बालबालिका, लैङ्गिक, यौनिक अल्पसंख्यक गरी झण्डै ८० प्रतिशत जनसंख्या ओगट्ने क्षेत्रमा काम गर्नुपर्ने मन्त्रालयसँग बजेट भने सबैभन्दा कम छ ।’ संघीयता कार्यान्वयन गर्न राज्यले मन्त्रालयको जिल्लास्तरीय संरचना खारेज गरेकाले पनि काम गर्न असहज भएकाले अब पुनः मन्त्रालयलाई तल्लो तहसम्मै कसरी पुर्याउन सकिन्छ भन्नेमा आफु लागिरहेको पनि मन्त्री चौधरीले बताइन् ।
बर्जुगाउँपालिका वडा नं। १ ले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र लैङ्गिक अल्पसंख्यक समुदायका लागि नीतिगत काम गर्ने समेत बताइन् । अन्य मन्त्रालयहरु जस्तो विकासे मन्त्रालय नभएता पनि जनताका दुखः कष्ट, हक अधिकारसँग प्रत्यक्ष जोडिने मन्त्रालय भएकाले सोही अनुसार कार्यक्रमहरु बनाएर गाउँगाउँमा पुग्ने जिकीर गरिन् ।
विगतका सरकारमा पालामा मन्त्रालय शहरमुखी भएको प्रसंग निकाल्दै आफु ग्रास रुटबाटै आएकाले जनताकै घरदैलोमा पुग्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । ‘विगतमा धेरै कामहरु ठूल्ठूला सहर र तारे होटलमा भएपनि अब यो मन्त्रालयले ग्रासरुटसम्मै पुगेर काम गर्नेछ ।’ चौधरीले भनिन् । उनले महिला, बालबालिका र ज्येष्ठ नागरिकका सवालमा सल्लाह, सुझावहरु दिन आग्रह पनि गरिन् ।
सुनसरी क्षेत्र नं। ३ को विकासका लागि आफु प्रतिबद्ध रहेको जनाउँदै चुनाबी दौरानमा जनताका घरदैलोमा जाँदा गरेका बाचा र प्रतिबद्धताहरु पुरा गर्न दिलोज्यानले लाग्ने जनाइन् । ‘यो मन्त्रालयसँग विकासका योजनाहरु नभएता पनि तपाईहरुले वडावडाबाट कार्यक्रमहरु बनाएर पठाउनु होस म अन्तरमन्त्रालय समन्वय गरेर भएपनि बजेट ल्याउन लाग्नेछु ।’ सबै प्रतिबद्धताहरु एकै पटक पुरा गर्न नसकेपनि आफ्नो तबरबाट कुनै कमजोरी नहुने मन्त्री चौधरीको भनाई छ ।
ज्येष्ठ नागरिक ऐन बनिरहेको बताउँदै आफु मन्त्री भएर गइसकेपछि उक्त ऐनलाई अन्तिम रुप दिन लागेको बताउँदै सामाजिक सुरक्षा भत्तालाई ज्येष्ठ नागरिकका घरघरमा पुर्याईदिने व्यवस्था गर्न पनि लागेको जनाइन् । ‘स्थानीय तहमा खोलिएका बैंकहरुमा समेत पुग्न नसक्ने ज्येष्ठ नागरिकहरु हुनुहुन्छ, उहाँहरुको सुविधाका लागि अब राज्यले प्रदान गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता हातहातैमा पुर्याउने तर्फ मेरो ध्यान गएको छ ।’ ज्येष्ठ नागरिकका घरदैलोमै पुगेर बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिने नीति बनाउने बताइन् ।
ज्येष्ठ नागरिक अनुभव र इतिहासका साक्षी भएकाले उनीहरुको जीवन सुरक्षा, सामाजिक सुरक्षा, उचित स्याहार सुसार, पारिवारिक मिलन र सहज जीवनका लागि काम गर्न योजनाहरु बनाइरहेको चौधरीले दावी गरिन् । स्थानीय, प्रदेश र संघीय सरकारविच अन्तरसम्बन्ध र सहकार्य गरी काम गर्नेपनि बताइन् ।
गृह जिल्लाको भ्रमणको पहिलो दिन मन्त्री चौधरीले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै सोही वडामा विद्यालय भवन समेत शिलान्यास गरिन् भने सोही पालिकामा दलित, मुसहर तथा विपन्न समुदायका लागि आवास समेत शिलान्यास गरेकी छिन् ।
तीन दिन गृह जिल्लामा रहेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग सम्बन्धी विभिन्न कार्यक्रमहरुमा सहभागी हुने मन्त्री चौधरीका स्वकीय सचिब द्रव्यराज चौधरीले जानकारी दिए ।
मन्त्री भएको दुई सातामै नेतृ चौधरीले मन्त्रालयमा विधागत व्रिफिङ लिँदै योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनको साथै अध्ययन, अनुसन्धान तथा सर्वेक्षणका विषयहरूमा मन्त्रालय मातहतका शाखा र निकायहरुलाई जनउत्तरदायी भएर काम गर्न निर्देशन दिएकी थिइन् ।
अनाथ बालबालिका, असहाय महिला, वृद्धरवृद्धा, अपाङ्गरअशक्तको संरक्षण, बालबालिकाको कल्याण, ज्येष्ठ नागरिकको सुरक्षा र कल्याण, महिला कल्याण तथा सीप विकास, महिला तथा किशोरीहरूका लागि सुरक्षा, घटना उजुरी तथा व्यवस्थापन संयन्त्रको निर्माण, लगायतका सवालमा मन्त्री चौधरीले योजनाबद्ध कार्यक्रम बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएकी छिन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो