दबाब बढेपछि सरकारले बनायो वार्ता टोली, पक्राउ परेका छोड्नुपर्ने र केवलुकार निर्माण रोकिनुपर्ने आन्दोलनकारीको माग

खगेन्द्र कार्की

इटहरी । ताप्लेजुङको केवलकार निर्माणका विरुद्धमा उठेका आवाज दबाउन सरकारले गरेका हेपाहा प्रवृत्तिका विरुद्ध दबाब बढी भएपछि वार्ता टोली गठन गरेको छ । सुरक्षा घेराभित्रै उद्घाटन गरिएको सो केवलकार निर्माणको कार्य अहिलेसम्म सुरक्षाघेराभित्रै काम भईरहेको छ । तर पनि सरकारले कामलाई रोकेर जनताका आवाज सुन्ने र कुरा बुझाउने चेष्टा गरेको छैन । 

आन्दोलन दबाउने नाममा सरकारले जनतामाथि गोली बर्सायो त्यो घटनाले आन्दोलनलाई आगोमा घिउ थपे झै भयो । घाइतेले अस्पताल पु¥याएर आन्दोलनकारीले पूर्वी नेपालका तराई तथा पहाडी जिल्लामा यातायात ठप्प पारेको हप्ता दिन बढी भयो । सुरुमा सामान्य प्रशासन मन्त्रालयतिर पन्छाएको गृहमन्त्रालयले दबाब बढी भएर आन्दोलनप्रति ऐक्यबद्धता बढ्दै गएपछि आफै माहतहतमा वार्ता टोली गठन गरेको हो । तर पनि वार्ताका लागि आधारभुत मूल्य र मान्यतालाई नटेकी बनाइएको वार्ता टोलीसँग वार्ता नगर्ने आन्दोलनरत पक्षको अडान कायमै रहँदा पनि वार्ताका सम्बन्धमा वातावरण बनाउन दुवै तर्फका वार्ताकारहरुले सोमबार बेलुकी वार्तामा बसेका सुखद खबर प्राप्त भएको थियो ।  

ऐक्यबद्धता र समर्थन बढ्दै

केवलकार विरुद्धको आन्दोलन पूर्वी नेपालका ९ जिल्लाका लागि निकै सकसपूर्ण बनेको छ । यातायात ठप्प भईदिँदा सबैतिर कामकाज ठप्प झै छ । यातायात गर्नेहरु एकै ठाउँमा खुम्चिएर बस्न विवश बनाइएको छ । यो अवस्थामा आन्दोलनको रुप बढ्दै काठमाडौंसम्म पुगेको छ । सोमबार काठमाडौंमा राजेन्द्र महतोसमेतको सहभागितामा आन्दोलन भयो । 

यता दमकमा दमक नगरपालिका नगरप्रमुख रामकुमार थापाले आन्दोलनप्रति ऐक्यबद्धता जारी गरेका छन् । थापाले मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिले सञ्चालन गरेको आन्दोलनका कार्यक्रमहरु प्रति आफनो ऐक्यवद्धता रहेको बताएका छन् ।

संर्घष समितिले आव्हान गरेको दुई दिने बन्दका क्रममा सोमबार दमक चौंकको सडकमै पुगेर उनले यस आन्दोलन प्रति ऐक्यवद्धता जनाएका हुन्् । वन्दकर्ताहरुको विरोध कार्यक्रममा सहभागि हुदैं उनले पाथीभराको प्राचिनता ,ऐतिहासिकता माथि व्यापारका नाममा कला,संस्कति मास्ने कार्य कसैलाई पनि स्वीकार्य नहुने उल्लेख गरे । उनले पहिचानको यस आन्दोलनप्रति आफनो पार्टीको पूर्ण समर्थन भएको सुनाए ।

राप्रपा कोशी प्रदेश समितिका अध्यक्ष समेत रहेका थापाले देश भित्रका सवै जातजातिको संस्कृति,सभ्यतालाई राज्यबाट संरक्षण,सम्बद्र्धन गर्नका सट्टा आँच आउने कार्य हुनु दुखद भएको बताए । राज्यबाट नै जातजातिका नाममा समाजलाई द्धन्दमा फसाउने कार्य हुदै जानु चिन्ताको विषय भएको उनको भनाई थियो ।

 पाथीभरामा केवलकार जर्वजस्ती बनाउने कार्य रोकेर वार्तामार्फत निकास खोज्न समेत राज्यले ढिलाई गर्न नहुने उनले उल्लेख गरे ।

दमकमा भएको सो आन्दोलनमा आन्दोलनकारीले ‘पाथीभरा क्षेत्रमा केवल कार निर्माण बन्द गर’, ‘गृह मन्त्री राजीनामा दे’ ‘व्यापारी चन्द्र ढकालले खरिद गरेको सरकार मुर्दावाद’ जस्ता नाराका प्लेकार्डसहित प्रदर्शन गरेका छन् । 

पाथीभरा मन्दिर ‘मुक्कुमलुङ’मा केवलकार निर्माणले सांस्कृतिक अतिक्रमण गर्ने भन्दै लिम्बू समुदायको मुन्धुमीस्थलको संरक्षणकालागी आन्दोलन गर्नु परेको उनीहरुले बताउँदै आएको छ ।

गत माघ १२ मा बलुडाँडामा गोली चलेपछि विवाद राष्ट्रिय रुपमा चुलीएको छ । त्यसपछि सरकारका विरुद्धमा चरणवद्ध आन्दोलनहरु हुन थालेका हुन । यहि क्रममा आईतबार र सोमबार कोशी प्रदेशको अरुण पूर्वका नौवटा जील्लामा सार्वजनिक यातायात बन्दको आह्वान गरिएको छ । सोहि अनरुप सोमबार पनि दमकको मुख्य चोकमा प्रदर्शनकारीहरु बिच सडकमै पलेटी कसेर विरोध गरिरहेका थीए ।चारैतीरबाट प्रहरीले घेरा हालेर उनीहरुलाई संरक्षण गरिरहेको जस्तो पनि दमकमा देखिन्थ्यो ।

यहि भीडमा भेटिनुभएका आन्दोलन पक्षको एउटा घटक किरात याक्थुङ चुम्लुङ र यसका झापा अध्यक्ष सेसेहाङ फियाकले कम्तीमा कुनै एउटा मन्त्रालयको मन्त्रीको संयोजकत्वमा मात्रै वार्ता गर्ने, अहिलेसम्म पक्राउ परेका आन्दोलनकारीलाई बिना सर्त रिहा नगरेसम्म वार्तामै नजाने बताउनु भयो । ‘सरकारले हामीलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गर्नुको सट्टा केवलकार बनाउने काम बन्द गरेर चाहि वार्तामा बोलाउन सक्दैन ?’ फियाकले प्रश्न गर्दै भन्नु भयो ‘ सरकारले हाम्रो पहिचान र सभ्यातामाथी वेवास्था गरीरहेको छ । ’

सरकारले भने यो विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया