आसन्न निर्वाचनमा कहाँ कहाँ सुरक्षा चुनौति छ ?

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन ४१ दिन बाँकी रहँदा राजनीतिक दलहरूले चुनावी गतिविधि तिव्र पारेका छन् । 

घरदैलोदेखि सामाजिक सञ्जलाबाट चुनावी प्रचार मात्रै होइन आफुविरूद्ध निर्वाचन लड्न लागेका उम्मेदवारलक्षित भ्रामक सूचनाको प्रचारप्रसार पनि भइरहेका छन । सामाजिक सञ्जालबाट एक अर्काप्रति भइरहेको द्वन्द्वात्मक अवस्था जुनसुकै बेला सडकमै आउनसक्ने सुरक्षा निकायले विश्लेषण गरेको छ । त्यस्ता गतिविधि बेलैमा रोक्न र झडप भइहाले नियन्त्रणका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको छ ।

चुनावी प्रचारमा प्रविधिको प्रयोग बढेसँगै सुरक्षा चुनौती पनि बढिरहेको सुरक्षा निकायको विश्लेषण छ । गत बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा पनि सामाजिक सञ्जालमा भइरहेको द्वन्द्व जुनसुकै बेला भौतिक रूपमा देखिन सक्ने जानकारी गराइएको थियो । खासगरी अहिलेको निर्वाचनमा सुरक्षा निकायले तीनवटा निर्वाचन क्षेत्रलाई अति संवेदनशील भनेको छ ।

सबैभन्दा संवेदनशील मानिएको निर्वाचन क्षेत्र हो- झापा ५ । यो क्षेत्र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । २०४८ सालदेखि एकपटक मात्रै निर्वाचन हारेका अध्यक्ष ओलीसँगको प्रतिस्पर्धामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उत्रिनु भएको छ । 

ओली र शाह दुवैलाई आआफ्नो पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । दुई मध्ये एक उम्मेदवारले हार्ने निश्चित भएकाले पनि यहाँ प्रतिस्पर्धा कडा हुने आकलन गरिएको छ । घरदैलोमा व्यस्त दुवैका समर्थक एक अर्काप्रति आक्रामक छन् र सामाजिक सञ्जालमा पनि एक अर्काप्रति भ्रामक र मिथ्या सुचना फैलाइरहेका छन् । 

मनोनयन दर्ताकै दिन पनि दुई पक्षबीच धकेलाधकेलको स्थिति बनेको थियो । सामाजिक सञ्जालमा एकअर्काप्रतिको आक्रामक टिप्पणी र मैदानमै पनि कार्यकर्ताबीचको तिक्तताले सुरक्षा संवेदनशिलता बढाएको हो। सुरक्षा निकायले अति संवेदनशील मानेको अर्को क्षेत्र हो- सर्लाही ४ । 

यो क्षेत्रमा पनि नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाबाट अमरेशकुमार सिंह प्रतिस्पर्धामा हुनुहुन्छ। कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । अमरेशले कांग्रेसबाटै विद्रोह गरेर अघिल्लो निर्वाचनमा स्वतन्त्र जित्नु भएको थियो । 

नेपाल भारत सीमा नजिकको निर्वाचन क्षेत्र भएकाले पनि सर्लाही-४ लाई अति संवेदनशील मानिएको छ। त्यसमाथि साबिकको निर्वाचन क्षेत्र काठमाडौं-४ छोडेर कांग्रेस सभापति थापा सर्लाही पुग्दा त्यसले सुरक्षा चुनौती बढेको स्वयं थापाका कार्यकर्ताले भनिरहेका छन्।

यता सप्तरी पनि फागुन २१ को निर्वाचनमा सुरक्षा चुनौती धेरै रहेको सुरक्षा निकायको विश्लेषण छ । सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत उम्मेदवार हुनुहुन्छ भने जनमत पार्टीबाटै प्रदेश सांसद जितेर मधेश प्रदेशको मुख्य मन्त्रीसमेत बन्नुभएका सतिशकुमार सिंह पार्टी परिवर्तन गरी आफ्नै पूर्वअध्यक्षविरूद्ध स्वाभिमान पार्टीबाट उम्मेदवार बन्नुभएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी-३ बाट उम्मेदवार हुनुहुन्छ । अघिल्लो निर्वाचनमा-२ बाट सीके राउतसँग पराजित उहाँ यसपटक रास्पवाका अमरकान्त चौधरी र एमालेका ताराकान्त चौधरीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । खासगरी सप्तरी २ र ३ मै शक्तिशाली मानिएका मधेशी नेताहरूको प्रतिस्पर्धा हुने हुँदा झडपसम्मको स्थिति पनि आउनसक्ने आकलन गरिएको छ । 

यसअघिको निर्वाचनमा भएका घटनाहरूलाई हेरेर पनि सुरक्षा निकाय चनाखो भएको हो। यीबाहेक सुरक्षा निकायले २०७९ को निर्वाचनमा उम्मेदवारका कारण थ्रेट भएको पाँचवटा जिल्लामा पनि झडपको स्थिति आउन सक्ने आंकलन गरेको छ । बाजुरा, दोलखा, स्याङ्जा र बागलुङलाई सुरक्षा जोखिम मानिएको छ । यी क्षेत्रमा अघिल्लो निर्वाचनमा झडप हुनेदेखि मतपेटिका नै बोकेर भाग्ने अवस्था आएको थियो ।

देशभरका अन्य ४ हजारभन्दा बढी मतदान स्थल तथा केन्द्र अति संवेदनशील रहेको भन्दै सुरक्षा निकायले निगरानी गरिरहेको छ । सुरक्षाका हिसावले उच्च जोखिम रहेका क्षेत्रका लागि सरकारले २-३ वटा रणनीति तयार पारेर अघि बढेको छ । पहिलो हो - सामाजिक सञ्जालमा हुने चुनावी गतिविधिको निगरानी । 

अहिले सामाजिक सञ्जालमा गलत सूचना प्रवाह भइरहेकाले त्यसलाई रोक्न हरेक जिल्लामा दुई जना साइबर ब्यूरोका तालिम प्राप्त कर्मचारी परिचालन गरिने छ। उम्मेदवारविरूद्ध त्यस्ता गतिविधि भए फिल्डमै एक्सन लिने तयारी गृहमन्त्रालयले गरेको छ ।

दोस्रो तयारी हो - राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीबीच निरन्तर छलफल र संवाद । उम्मेदवारका कारण थ्रेट भएको क्षेत्रमा उनीहरूसँग बैठक गरेर सभा सम्मेलन र चुनावी गतिविधिको बारेमा जानकारी लिने तयारी छ। त्यसका लागि दलबाट फोकल पर्सन तोक्ने र सुरक्षा निकायलाई सम्पर्क गर्न लगाउने पनि तयारी गरिएको छ ।

सरकारको तेस्रो तयारी हो- अहिले सम्भावित सुरक्षा चुनौती रहेका क्षेत्र र अघिल्लो निर्वाचनमा चुनौती देखिएका क्षेत्रमा झडपको स्थिति आए ३० मिनेटमै पुग्न सक्नेगरी सुरक्षा फोर्स तैनाथ राख्ने । त्यस्ता क्षेत्रका लागि स्रोतसाधन सम्पन्न सुरक्षा फोर्सको तयारी अवस्थामा राखिने छ।kantipur

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया