दमकमा १२ वर्ष अघि जडान भएको सीसीटिभीको भुक्तानी अझै बाँकी, कानुनी उपचारमा जाने चेतावनी

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । दमक उद्योग वाणिज्य संघले १२ वर्ष अगाडि सम्झौता गरेर गरेको कामको भुक्तानी हुन बाँकी रहेको खुलासा भएको छ । त्यति बेलाको कार्यसमितिले दमकको बजारमा सीसी टिभी जडान गर्न सम्झौता गरेर गरेको कामको अझै भुक्तानी नभएको धिमाल व्यवसायी समूहको दावी छ । 

त्यतिबेला (२०७० पुस ३० गते) दमकका व्यवसायी सुरज धिमाल र दमक उद्योग वाणिज्य संघका तर्फबाट सीसी टिभी जडान समन्वय समितिसँग सम्झौता गरेर भएको कामको भुक्तानी नपाएको सो पत्रकार सम्मेलनमा बिहीबार जानकारी गराएका हो । उनले सम्झौता बमोजिमको रकम नपाए कानुनी उपचारमा जाने चेतावनीसमेत दिए । दउवा संघका त्यसपछिका कार्यसमितिबाट समेत उक्त भुक्तानीमा झुलाउँदै आएको आरोप दमक धिमाल ब्यवसायी समुहका संयोजक तथा व्यवसायी धिमालले लगाएका हुन् । त्यो बेला दमकका ८ ठाउँमा सीसी टिभी जडान भएको उनले सुनाए ।

सो पत्रकार सम्मेलनमा धिमाल ब्यवसायीहरुलाई परेको समस्या, अप्ठायारोमा वाणिज्य संघको सहयोग नभएको आरोप पनि लगाएका छन् । सो पत्रकार सम्मेलनमा अहिलेको निर्वाचनका लागि बनेका तीनवटै प्यानलले धिमाललाई उपेक्षा गरेको आरोप पनि लगाए । धिमालले भने– हाम्रो समूह भोटबैंक मात्र बन्यो । 

आज सोही उद्योग वाणिज्य संघ चुनावी मैदानमा होभिएको छ । निर्वाचन आजै हुँदैछ । यतिका दिनसम्म चुपचाप बसेको धिमाल व्यवसायी समूह निर्वाचन अघिल्लो दिन यो विषयलाई लिएर पत्रकार सम्मेलनमा उत्रिनुलाई पनि निर्वाचन प्रभावित तुल्याउने उपाय हो कि भन्ने आशंका उब्जाएकोछ । यहि आशंका मेटाउँदै सचिव मणिराज धिमालले भने–  अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प नदेखिएको सामाजिक अवस्थालाई सदुपयोग गर्दै दउवा संघको निर्वाचन अघिल्लो दिन आउने नेतृत्वलाई दबाब दिन पत्रकार सम्मेलन गरिएको हो । उनले भने– धिमाल ब्यवसायी र धिमाल समुदायलाई समाज, सम्वन्धि निकायले हेर्ने दृष्टिकोण भेदभावकारी भएको महसुस गरेर अहिले वाणिज्य संघको निर्वाचनलाई मात्र नभई भोलीका दिनमा हुने संघीय, प्रदेश र स्थानिय तहको निर्वाचन लगायतका विषयमा आफनो अधिकार खोज्न बिद्रोहको संकेत समेत यहि पत्रकार सम्मेलन रहेको सचिव धिमालले पत्रकारहरुलाई बताए । यसको यथार्थ कुरा अब दमक उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले चिरफार गर्न जरुरी छ । दमकको पहिलो जातीको रुपमा रहेको धिमाल समुदायमाथि कहिँ कतै कुनै पक्षबाट त्यस्तो भए गरेको सच्याउन आवश्यक देखिन्छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया