काठमाडौं । प्रधानमन्त्री ओलीले कर्मचारीले निर्णय गर्न डराउने अवस्था हट्ने भन्दै निर्णय गर्दा फसिन्छ भन्ने मानसिकता त्याग्न र कुनै पनि प्रकारको असुरक्षा महसुस नगर्न आग्रह गरे । ’हाम्रो गन्तव्य नेपाललाई समृद्ध बनाउनु हो र नेपालीलाई सुखी बनाउनु र गरिबी हटाउनु हो, बीस प्रतिशतभन्दा बढी जनसङ्ख्या गरिबीमा छ । केही वर्षभित्रै हामीले यसलाई अन्त्य गर्नुपर्छ । त्यसका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ,’ उनले भने ।
प्रधानमन्त्रीले खपतका लागि आयात बढिरहेको उल्लेख गर्दै आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए । ’दैलेखमा पेट्रोलियम पदार्थको खानी उत्खनन गरी आन्तरिक खपत गर्ने मात्र होइन निर्यात गर्न सक्नेबारे हामीले योजना बनाउनुपर्छ, जलविद्युत् र हाइड्रोजनलगायतको ऊर्जा उत्पादनको अपार सम्भावना छ । हामीसँग खानेपानीको ब्राण्डिङ गरेर निर्यात गर्न सक्ने अथाह सम्भावना छ । त्यो सम्भावनालाई यथार्थमा बदल्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले नियमित कामका लागि बैठक भत्ता किन चाहियो भन्दै प्रश्न समेत गरे । हाम्रो जस्तो गरिब मुलुकमा यस्ता कुराले ठूलो दायित्व सिर्जना गर्ने भन्दै अनावश्यक भत्ता नलिन उनको आग्रह थियो ।
सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्त गर्नका लागि तोकिएका लक्ष्य पूरा गर्न सबै मन्त्रालय र निकायले आ–आफ्नो दायित्व तथा जिम्मेवारी पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीको निर्देशन थियो । ’मानव अधिकार, जलवायु परिवर्तन, सम्पत्ति शुद्धीकरणलगायतका विषयमा हाम्रा लागि महत्वपूर्ण छन् । यसमा हामी कसरी जाने भनेर स्पष्ट हुन जरुरी छ,’ उनले भने । नेपालमा ठूला दरका भारतीय नोट रू २५ हजारभन्दा बढी बोक्न नमिल्ने व्यवस्थालाई संशोधन गरिनुपर्ने पनि ओलीको भनाइ थियो ।
बजेट कार्यान्वयनको अवस्था हेर्दा चालु खर्च शतप्रतिशत गर्ने तर पुँजीगत खर्च आधा पनि गर्न नसक्ने व्यवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले निर्माण व्यवसायीले पाउनुपर्ने रकम, दुग्ध किसानको भुक्तानीको समस्या तत्काल समाधान गर्न पनि निर्देशन दिए ।
त्यस्तै उनले कृषि बीमाको अनुदान रोकिएको विषयलाई गम्भीर रूपमा लिन निर्देशन दिए । व्यवसायीले भ्याट फिर्ताको रकम नपाएको गुनासो सम्बोधन गर्न उनले जोड दिए ।
कृषि मन्त्रालयअन्तर्गत सञ्चालित सामूहिक अनुदानका कार्यक्रम आवश्यक रहे पनि व्यक्तिगत अनुदानका सबै कार्यक्रम बन्द गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । त्यस्तै सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे नियमित अनुगमन निरीक्षण गर्न पनि उनको निर्देशन थियो ।
ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका काममा ढिलासुस्ती भएको विषय उठाउँदै ओलीले कानुनी रूपमा समस्या परेको भए त्यसलाई सहजीकरण गरेर काम अगाडि बढाउन उनको निर्देशन दिए ।
सरकारले चाँडै सगरमाथा संवाद आयोजना गर्ने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । पछिल्ला केही वर्षदेखि रोकिएको राष्ट्रिय प्रतिभा पुरस्कार वितरण प्रक्रिया अगाडि बढाउन पनि उनले निर्देशन दिए ।
राजस्व चुहावट नियन्त्रणका लागि जिम्मेवार भएर लाग्न निर्देशन दिँदै प्रधानमन्त्रीले करको दरभन्दा पनि दायरा बढाउँदै लग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले मौद्रिक नीतिले राम्रो प्रभाव देखाएको र बजार पनि चलायमान हुन थालेको बताए । पुँजी बजार मात्र होइन सबै क्षेत्र बिस्तारै सुधार हुँदै जाने विश्वास पनि उनले दिलाए ।
सरकारलाई असफल हुने छुट छैन
प्रधानमन्त्री ओलीले सरकारसामु असाधारण चुनौती रहेको उल्लेख गर्दै सरकारलाई असफल हुने छुट नभएको बताए । ’यो अन्तिम आशा (लास्ट होप) हो । यो सरकार असफल हुन बनेको पनि होइन । सरकार जसरी पनि सफल हुन्छ,’ निर्देशन दिँदै उनले भने, ’हामी हातमा हात बाँधेर मात्र बस्यौ भने सफल भइँदैन । भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहुन सकिन्न, यसका लागि प्रतिबद्धता चाहिन्छ ।’
उनले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने उल्लेख गर्दै दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा समेत दिने बताए । त्यसपछि निर्वाचनसम्म सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने उनले बताए ।
’सरकार शान्ति सु–व्यवस्था तथा सुशासन कायम गर्न र जनतालाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले बनेको हो, यसमा तपाईंहरू सबै स्पष्ट हुनुस्, देशका लागि केही गरौँ भनेर बनेको यो सरकारले आग्रह पूर्वाग्रह राख्दैन, कामको सही मूल्याङ्कन गरेर अघि बढ्छ,’ प्रधानमन्त्रीले भने ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो