इटहरी रंगशाला पछाडिको क्षेत्रमा सुरक्षाकर्मी राख्ने तयारी

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरी ध्वस्त भएपछि सुरक्षाकर्मीको व्यवस्थापनमा रंगशालापछाडिको भागमा अस्थायी प्रयोगमा राख्ने तयारी सुरु गरिएको छ ।

केही दिनमै सोही स्थानबाट सेवा सञ्चालन गर्ने तयारी भइरहेको वडा नं. ९ का वडाअध्यक्ष जितेन्द्र थापाले जानकारी दिए । कार्यालय स्थानान्तरणसँगै सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको पनि उनले सुनाए । 

नगरवासीलाई सुरक्षा र सुविधा प्रदान गर्ने कार्य नै पहिलो कर्तव्य भएको भन्दै प्रहरीले नयाँ स्थानबाट पनि पूर्ववत् रूपमा जनताको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उनका अनुसार इटहरी ९ का वडाध्यक्ष थापाको संयोजकत्वमा सहयोग समितिको कार्यप्रारम्भ सुरु गरिएको छ ।

यसैगरी ८ नं= का वडाध्यक्ष रोहित चौधरी, १० नं= वडाका वडाध्यक्ष अवधेश कुमार चौधरी, अनुरोध थापा, नागरिक समाजका पूर्व अध्यक्ष सन्त डुम्जन सदस्य रहेका छन् ।

यस्तै, इटहरी उपमहानगरका अधिकृत डम्बरबहादुर कार्की सदस्यसचिव रहेका छन् ।

इटहरीमा जेन–जी आन्दोलनको समयमा उपमहानगरपालिका, इलाका प्रहरी कार्यालयसहित दर्जन बढी सरकारी कार्यालयमा आगजनी गरिएको छ । हाल इटहरी प्रहरी तरहरा प्रहरी चौकीबाट सेवा प्रदान गर्दै आएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया