एम्बापेको फ्रान्स र हकिमीको मोरक्कोबीच रोमाञ्चक भिडन्त

खगेन्द्र कार्की

फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीचको भिडन्त प्रतियोगिताकै सबैभन्दा चासोको खेलमध्ये एक बनेको छ। फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको फ्रान्स लगातार उपाधि दाबेदारका रूपमा उभिएको छ भने छैटौँ स्थानमा पुगेको मोरक्को अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ। पछिल्लो विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग हार व्यहोरेको मोरक्कोसामु यसपटक बदला लिने अवसर पनि छ।

फ्रान्स समूह चरणदेखि नै प्रभावशाली देखिएको छ। आक्रामक खेल, बलियो अग्रपङ्क्ति र अनुभवले भरिएको टोलीले स्विडेन र पाराग्वेलाई पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो। केलियन एम्बापे उत्कृष्ट लयमा छन्। सात गोल गरिसकेका उनी गोल्डेन बुटको प्रमुख दाबेदारमध्ये एक हुन्। ओसमान डेम्बेले, माइकल ओलिस र ब्राडली बार्कोलाको साथले फ्रान्सको आक्रमणलाई अझ धारिलो बनाएको छ।

तर फ्रान्सका लागि यो खेल सहज हुने सम्भावना छैन। मोरक्को अब ‘डार्क हर्स’ मात्र होइन, स्थापित दाबेदारका रूपमा प्रस्तुत भएको छ। बलमा नियन्त्रण, तीव्र काउन्टर आक्रमण र अनुशासित रक्षापङ्क्तिका कारण उसले बलिया टोलीलाई समेत दबाबमा राख्दै आएको छ। नेदरल्यान्ड्स र क्यानाडालाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको मोरक्कोमा असरफ हकिमी, ब्राहिम दियाज, यासिन बोनो र युसुफ एन–नेस्रीजस्ता विश्वस्तरीय खेलाडी छन्।

यद्यपि दुवै टोली चोट समस्याबाट प्रभावित छन्। मोरक्कोका स्ट्राइकर इस्माइल साइबारी खेल्ने सम्भावना न्यून छ भने फ्रान्सले मिडफिल्डर अउरिलियन चोउमेनीको अनुपस्थिति बेहोर्न सक्छ। यस्ता अवस्थाले प्रशिक्षकहरूको रणनीतिक क्षमताको पनि परीक्षा लिनेछ।

इतिहास फ्रान्सको पक्षमा देखिन्छ। पाँच भेटमा फ्रान्सले तीन जित निकालेको छ भने दुई खेल बराबरीमा सकिएका छन्। तर वर्तमान प्रदर्शन हेर्दा विगतका तथ्यांक निर्णायक आधार बन्न सक्दैनन्। मोरक्कोले आत्मविश्वास, संगठित खेल र सामूहिक प्रदर्शनमार्फत आफूलाई विश्व फुटबलको नयाँ शक्तिका रूपमा स्थापित गरिरहेको छ।

यसकारण यो खेल केवल सेमिफाइनल प्रवेशको प्रतिस्पर्धा मात्र होइन, परम्परागत शक्ति र उदाउँदो शक्तिबीचको परीक्षा पनि हो। फ्रान्स अनुभव र व्यक्तिगत प्रतिभामा बलियो देखिए पनि मोरक्कोको अनुशासन, सामूहिकता र उच्च मनोबलले खेललाई अन्तिम मिनेटसम्म रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया