१० कम्युनिष्ट एकिकृत भई एक नेपाली कम्युनिष्ट पार्टी घोषणा

खगेन्द्र कार्की

इटहरी । नेपाली राजनीतिमा पार्टी पुनर्गठन र रुपान्तरणको लहर चलेका बेला पुराना १० वटा कम्युनिस्ट पार्टी घटकहरु एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्र्टीको घोषणा गरेका छन् ।

बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायत राजनीतिक पार्टी र समूह एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टीका रुपमा रुपान्तरण भएका हुन् ।

एकीकृत पार्टीका संयोजक पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक पूर्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तोकिएका छन् । एकीकृत पार्टीको एकता सभालाई नै राष्ट्रिय सम्मेलनका रुपमा घोषणा गरिएको कार्यक्रममा नवगठित पार्टीको घाषणापत्र र विधान समेत सार्वजनिक गरिएको छ ।

सम्मेलनमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले नेपालको कम्युनिस्ट आन्दोलन, पार्टीहरुको अवस्था, जेनजी आन्दोलन, नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्न नयाँ पार्टीले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । साथै, उनीहरुले नयाँ पार्टीलाई क्रान्तिकारी पार्टीका रुपमा विकास गर्दै मुलुकमा समाजवाद हुँदै साम्यवादको दिशातर्फ लैजाने दाबी समेत गरे । पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका तर्फबाट २३ बुँदे प्रतिवद्धता व्यक्त गरिएको छ । जसमा जेनजी आन्दोलनका माग र आकांक्षा पूरा गर्न पार्टीले प्रतिवद्धता जनाएको छ ।

‘जेनजी पुस्ताका मुद्धा र आकांक्षाको सम्बोधन गर्न प्रतिबद्ध रहने, २३ बुँदे प्रतिवद्धतामा भनिएको छ, ‘नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने ।

राष्ट्र र जनताप्रति इमानदार, निष्ठावान र समर्पित भई काम गर्ने प्रतिवद्धता जनाएको उक्त पार्टीले माक्र्सवाद–लेनिनवादका सार्वभौम सच्चाइहरूप्रति दृढ रहँदै तिनलाई नेपालको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढङ्गले लागु गर्ने जनाएको छ ।

समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद 

दश....स्थापनाको महान लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने, नेपाली कम्युनिस्ट पार्टीले भनेको छ ।

त्यस्तै, नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सबलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको संख्या घटाउनेलगायत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने उक्त पार्टीले प्रतिवद्धता जनाएको छ ।

नवगठित पार्टीले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त्य गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने जनाउँदै उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारवाही गराउन प्रभावकारी पहल गर्ने जनाएको छ ।

स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिबीको अन्त्य गर्न विशेष पहल गर्ने जनाएको उक्त पार्टीले वर्तमान नेपाली समाजको आर्थिक–सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने जनाएको छ ।

कार्यक्रममा संयोजक प्रचण्डले एकीकृत पार्टी एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको बताए । ‘अब नयाँ शक्ति निर्माण भयो, उनले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ । एक दुई घटकबिच एकता भएको थियो, तर १० वटा घटकबिच एकता भएको थिएन । प्रचण्डले यो एकताका लागि मात्र होइन, देशका संकट समाधानका लागि बनेको एकता भएको दाबी समेत गरे । ‘यो इतिहास अब कसैले मेटाएर मेटिँदैन, उनले दाबी गरे ।

सहसंयोजक माधवकुमार नेपालले पार्टीहरुको अग्निपरीक्षा सुरु भएको भन्दै अहिलेको एकतामा छुटेका वामपन्थी घटकलाई सँगसँगै लैजान प्रयास कायमै राख्ने बताए । नेकपाकालका ९ शीर्ष नेताहरूमध्ये ५ जना यहीं छौँ । त्यसैले मूल पार्टी यहीं भएको छ, नेता नेपालले भने । कार्यक्रममा नेताहरु झलनाथ खनाल, देव गुरुङ, वामदेव गौतम, बेदुराम भुसाल, पम्फा भुसाल, महेन्द्र राय यादव, सुवासराज काफ्ले, राजु कार्की, चिरन पुन, कर्णजीत बुढाथोकी, प्रेमबहादुर सिंहलगायतले पार्टी एकता र औचित्यबारे धारणा राखेका थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया