इटहरी/ सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले इटहरी उपमहानगरपालिका–५ स्थित जनता बस्तीमा नागरिकबाट उठाइँदै आएको कर तथा शुल्कको कानुनी आधार सार्वजनिक गर्न माग गरेका छन् । उनले घरधुरी करका नाममा शुल्क उठाएर बहाल बिटौरी करको रसिद दिने कार्य कानुनसम्मत भए–नभएकोबारे स्पष्ट हुनुपर्ने बताएका छन् ।सांसद थापाले जनता बस्तीका बासिन्दाको संविधानले सुनिश्चित गरेको आवासको अधिकारप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै वास्तविक अव्यवस्थित बसोबासीले कानुनअनुसार अधिकार पाउनुपर्ने धारणा राखे । तर, अधिकार कार्यान्वयनका नाममा कानुनी आधारबिनै शुल्क उठाउन नहुने उनको भनाइ छ ।उनले स्थानीय तहले बसोबासको निस्सा दिने प्रयोजनका लागि घरधुरी कर उठाउने र त्यसको सट्टा बहाल बिटौरी करको राजस्व रसिद दिने अभ्यास कुन कानुनअनुसार भइरहेको हो भन्ने प्रश्न उठाएका छन् । यस्तै, नागरिकबाट उठाइएको शुल्क कुन आर्थिक ऐन, स्थानीय राजपत्र, कार्यविधि वा संघीय कानुनका आधारमा संकलन गरिएको हो भन्ने विवरण सार्वजनिक गर्न उनले माग गरेका छन् ।सांसद थापाले यदि संकलित राजस्व बहाल बिटौरी वा अन्य शीर्षकमा दाखिला गरिएको हो भने त्यसको कानुनी वर्गीकरण र वित्तीय कानुनसँगको सम्बन्ध पनि स्पष्ट पारिनुपर्ने बताए । कानुनी आधार भए त्यससम्बन्धी निर्णय, राजपत्र, आर्थिक ऐन, राजस्व शीर्षक तथा लेखा अभिलेख सार्वजनिक गर्न र आधार नभए प्रक्रिया तत्काल सच्याएर शुल्क उठाउने कार्य रोक्न उनले आग्रह गरेका छन् ।बसोबासीको पहिचान आधुनिक प्रविधि र प्रमाणका आधारमा गर्न सकिने भन्दै सांसद थापाले विद्युत् र खानेपानीको महसुल, मतदाता नामावली, नागरिकता, विद्यालय तथा स्वास्थ्य संस्थाका अभिलेख, नापी नक्सा, जीआईएस तथा उपग्रहबाट प्राप्त विवरणलगायतका प्रमाण प्रयोग गर्न सकिने बताए। जग्गा किनबेच भएका घटनामा सम्बन्धित लिखत र अभिलेखको कानुनी परीक्षण हुनुपर्ने उनको भनाइ छ ।
२१ असार २०८३, अाईतबार १०:५९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो