भेनेजुएलामा भूकम्पको मृत्यु संख्या १४ सय नाघ्यो, उद्धारमा ढिलाइ भएको भन्दै आक्रोश

cVSedOCloS

एजेन्सी ।  भेनेजुएलामा बुधबार साँझ गएको ७.१ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या आइतबारसम्म १ हजार ४३० पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बेपत्ता हुनेको संख्या पनि बढेर ६८ हजार ९०० पुगेको छ भने अझै विवरण संकलन भइरहेकाले यो संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।
सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा स्थानीय बासिन्दा आफन्त र छिमेकीसँग मिलेर भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटेका छन्। उनीहरूले बेल्चा, डोरी, भारी उपकरणदेखि नाङ्गो हातसम्म प्रयोग गरेर उद्धार प्रयास जारी राखेका छन्। यसैबीच विभिन्न देशबाट उद्धार टोली घटनास्थल पुग्न थालेका छन्।
तर प्रभावितहरूले सरकारको उद्धार तथा राहत कार्य पर्याप्त नभएको भन्दै असन्तुष्टि जनाएका छन्। सैनिक, प्रहरी, अग्निनियन्त्रक र सैन्य क्याडेटहरू विपत्तिको आकारअनुसार प्रभावकारी रूपमा परिचालन हुन नसकेको आरोप स्थानीयवासीले लगाएका छन्।
मानवीय सहायता निकायहरूका अनुसार भूकम्पपछि पहिलो ४८ देखि ७२ घण्टा जीवित उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यद्यपि खाना र पानी उपलब्ध भएमा त्यसभन्दा केही समयसम्म पनि जीवित भेटिने सम्भावना रहने बताइएको छ।
भेनेजुएलाका अधिकारीहरूले शनिबारसम्म १७ अन्तर्राष्ट्रिय उडानमार्फत १ हजार ६०० भन्दा बढी उद्धारकर्मी देश पुगेको जानकारी दिएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले १४ हजारभन्दा बढी सैनिक र प्रहरी प्रभावित क्षेत्रमा परिचालन गरिएको दाबी गरेकी छन्। उनका अनुसार प्रभावित क्षेत्रमा प्रवेश गर्न विशेष अनुमति अनिवार्य बनाइएको छ।
यद्यपि स्थानीय बासिन्दाले सरकारी उपस्थिति निकै कमजोर रहेको बताएका छन्। भूकम्प गएको ७२ घण्टापछि पनि भग्नावशेषभित्र जीवित रहेको विश्वास गरिएका स्थानमा पर्याप्त उद्धार नभएको उनीहरूको गुनासो छ।
काराबालेदा क्षेत्रकी स्थानीयवासी माइलेइडी रोमेरोले एपीसँग कुरा गर्दै हिजो रातिदेखिका शवहरू अझै भग्नावशेषमा रहेको, नवजात शिशुसमेत मृत फेला परेको र समयमै उद्धार नहुँदा धेरैको ज्यान गएको बताएकी छन्। शव निकाल्नसमेत पर्याप्त सहयोग नपाएको उनको भनाइ छ।
धुलोले ढाकिएका बस्तीमा मानिसहरू भत्किएका भवनमाथि चढेर आफ्ना आफन्तको नाम पुकारिरहेका छन्। अत्यधिक गर्मी र शव गन्हाउन थालेपछि धेरैले मास्क लगाएर उद्धारमा खटिएका छन्। केही स्थानमा अस्थायी अस्पतालको पार्किङबाट शव ट्रकमार्फत पहिचानका लागि लगिएको देखिएको छ। सुरक्षाका आवश्यक सामग्री अभाव भएपछि कतिपय उद्धारकर्मी र स्थानीयले मोटरसाइकलको हेल्मेट लगाएर भग्नावशेष पन्छाइरहेका छन्।

cVSedOCloS
प्रतिक्रिया