फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौँ । सरकारले बेल्जियमको ब्रसेल्समा जेठ २९ देखि ३२ गतेसम्म आयोजना हुने महानगरपालिकाहरूको शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भ्रमण स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसैगरी बैठकले विद्युत् व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको जानकारी दिइन्।
यस्तै सरकारले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको छ। मन्त्री शर्माले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको समेत बताइन्।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने र माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रूखहरू हटाउन स्वीकृति दिने निर्णय भएको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो