निर्वाचनको लय समाउँदै निर्वाचन आयोग : सुरक्षा रणनीति तयार, मतदाता नामावली अब डिजिटल प्रविधिमै

खगेन्द्र कार्की

–  राष्ट्रिय परिचयपत्र भए अनलाइनबाटै नामावली

  पर्यवेक्षणका लागि २४ संस्था इच्छुक

  म्यादी प्रहरी भर्नाको तयारी

  प्रविधिमैत्री बनाइँदै तयारी

  निर्वाचन कार्यालयमा २ सिफ्टमा  कर्मचारी

 आचारसंहिता अन्तिम चरणमा

  संघीय मामिलासँग मागियो कर्मचारी

दमक । निर्वाचन आयोगले मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्यांक (बायोमेट्रिक्स) प्रयोग गर्ने भएको छ ।

मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गर्ने निर्णय भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए। बिहीबार आयोगमा जेन–जी युवाहरू समेतको उपस्थितिमा आयोगले राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक विवरण प्रयोग गर्ने परीक्षणसहित शुभारम्भ गरेको छ ।

कार्यवाहक आयुक्त भण्डारीले अब राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूले मतदाता नामावली दर्ताका लागि घरबाटै अनलाइन फारम भरेर नाम दर्ता गराउन सक्ने छन् ।

अब बायोमेट्रिक गराउन जिल्ला निर्वाचन कार्यालय पुगिरहनु पर्ने छैन। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले यस्तो निर्णय गरेको थियो।

निर्वाचन आयोगले निर्वाचनको तयारीका ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलका क्रममा ६० प्रतिशतभन्दा बढी काम सकिएको र प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जानकारी गराएको हो ।

म्यादी प्रहरी भर्नाको तयारी

आयोगले निर्वाचनका लागि चरणबद्ध सुरक्षा तयारी गरेको छ । प्रधानमन्त्रीको भेटमा बुधबार कार्यवाहक प्रमुख आयुक्त भण्डारीले एकीकृत सुरक्षा प्रणाली, पूर्वसुरक्षा सूचना तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने विषयमा भएको तयारीका विषयमा जानकारी गराएका छन् ।

आयोगले निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै सुरक्षा निकायसँग भर्नाका लागि समन्वय थालेको छ । २०७९ सालमा निर्वाचन आउनु साढे दुई महिनाअघि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया थालेको थियो । यसपटक पनि निर्वाचन मितिलाई मध्यनजर गरेर म्यादी भर्नाका लागि प्रहरीसँग समन्वय भइरहेको 

सुरक्षा...भण्डारीले जानकारी गराए ।

नेपाली सेनाको संयोजकत्वमा एकीकृत सुरक्षा प्रणालीले निर्वाचनका सामग्री, मतदानस्थल, मतदान कर्मचारी, बुथ तथा मतपत्र एवं मतपेटिकाको सुरक्षा गर्ने भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरी छनोटको तयारी भइरहेको पनि आयोगले जनाएको छ ।

पर्यवेक्षणका लागि २४ संस्था इच्छुक

आनिर्वाचनलाई स्वच्छ धाँधलीरहित र तोकिएको मितिमा सम्पन्न गर्न÷गराउनका लागि निर्वाचन आयोगले गरिरहेका कामको आन्तरिक तथा बाह्य अनुमोदन र बैधताका लागि पर्यवेक्षणको तयारी भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले ११ कात्तिकमा सूचना आह्वान गरी पर्यवेक्षकहरू सूचीकृत गरेको छ । आयोगमा हालसम्म २२ वटा राष्ट्रिय र दुईवटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको प्रवक्ता भट्टराईले बताए ।

निर्वाचन कार्यालयमा दुई सिफ्टमा कर्मचारी

मतदाता नामावली संकलनका लागि तोकिएको मितिको अन्तिम समयमा आएर अपेक्षाभन्दा बढी चाप भएकाले आयोगले दुई सिफ्ट कर्मचारी परिचालन गरेको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

उपत्यकाका तीन जिल्लाका निर्वाचन कार्यालयमा निर्वाचन आयोगबाटै थप जनशक्ति पठाइएको र जिल्लास्थित कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत जनशक्ति व्यवस्थापन र परिचालनको जिम्मेवारी दिइएको आयोग प्रवक्ता भट्टराईले बताएका छन् । थप जनशक्ति व्यवस्थापनसँगै बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको प्रवक्ता भट्टराईले बताए ।

हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अद्यावधिक भएको र पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५ सय ५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी गराएका छन् ।

आचारसंहिता अन्तिम चरणमा

निर्वाचन आयोगले उम्मेदवारको खर्च कटौती गर्नेसहितका व्यवस्था राख्दै निर्वाचन आचारसंहिता तयारी गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । आयोगले सामाजिक सञ्जाल तथा सूचना प्रविधि प्रणाली, निर्वाचन प्रचारप्रसार तथा जनशक्ति परिचालनलगायतका विषयहरूमा दलहरूको राय सुझाव लिइरहेको आयोगका प्रवक्ता भट्टराईले बताएका छन् ।

आयोगले आचारसंहिताको मस्यौदा तयार पारेर राजनीतिक दलहरूसँग राय माग्ने, निर्वाचनसँग सरोकार राख्नेहरूसँग छलफल गर्ने र राय माग्ने काम अन्तिम चरण पुगेको समेत बताएको छ । आयोगले आचारसंहितालाई चरणबद्ध रूपमा लागू गर्ने तयारी गरिरहेको आयोगको भनाइ छ ।

संघीय मामिलासँग मागियो कर्मचारी

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि कर्मचारीको व्यवस्थापनको सम्भावित सूची तयार पारेको छ । अन्यत्रबाट सरुवा गरी ल्याउने कर्मचारीका लागि सम्बन्धित मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया