राजनीतिक व्यक्तिलाई नियुक्ति दिँदाको परिणाम : सामुदायिक बनको अध्यक्ष भएका कांग्रेस नेताको अनियमितता पुष्टि, ५ लाख धरौटी बुझाएर निस्के

खगेन्द्र कार्की

मोरङ । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको १८ लाख १ हजार ७३५ रुपैयाँ अनियमितता गरेको अनुसन्धानबाट पुष्टि भएको नेपाली काँग्रेस बेलबारीको नगर सभापति तथा वनको निवर्तमान अध्यक्ष छत्र लिम्बु धरौटीमा छुटेका छन् । बेलबारी नगरपालिका १० घर भएका ३५ वर्षीय लिम्बुलाई मोरङ अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजालशले बुधवार पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका हुन् ।

लिम्बु वनको अध्यक्ष हुँदा ८ सय ८८।६५ क्यु फिट काठ १८ लाख १ हजार ७३५ मूल्य बराबर अनियमितता गरेको अनुसन्धानबाट ठहर भएपछि सब –डिभिजन वन कार्यालय बेलबारीले मोरङ अदालतमा साउन २१ गते अभियोग दर्ता गरेको थियो । सब डिभिजन वन कार्यालय बेलबारीका सहायक वन अधिकृत दीपेश कुमार मिश्रले अनुसन्धान पुरा गरेपछि तयार पारेको अभियोग पत्र अनुसार लिम्बुले साल र अन्य विभिन्न प्रजातिका काठ विक्री वितरण गरी रकम अनियमितता गरेको ठहर गरेको छ । वन ऐन २०७६ को दफा ४९९द० बमोजिमको कार्य कसुर गरेकोले लिम्बु विरुद्ध ऐनको दफा ५० को उपदफा ९१३० बमोजिम वन समितिमा रही हिनामिना गरेको १८ लाख १ हजार ७३५ बिगो असूल गरी ६ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको माग दाबी लिएर ‘ अवैध तरिकाले साल तथा अन्य जातको काठ बिक्री वितरण तथा आर्थिक अनियमितता’ मुद्दामा मोरङ अदालतमा अभियोग दर्ता भएको थियो ।

लिम्बुले वनको काठ अनियमितता गरेको उजुरी डिभिजन वन कार्यालय मोरङमा परेपछि अनुसन्धान अधिकृत सहायक वन अधिकृत मिश्रलाई तोकेको थियो । मोरङ अदालतबाट १४ असारमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना डिभिजन वन कार्यालयले सूचना चुहावट गरेपछि लिम्बु फरार भए । अधिकृत मिश्रले अनुसन्धान पुरा गरेपछि अदालतमा अभियोग दर्ता गरेको २४ दिनपछि लिम्बु आफ्नो तर्फबाट कानुन व्यवसायी राखेर सुटुक्क अदालतमा हाजिर भएका हुन् ।

अदालतमा लिम्बु हाजिर भएपछि थुनछेक बहसपछि धरौटी खुलेको हो । अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनी रिहा भएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

इनरुवा अनलाईनबाट



खगेन्द्र कार्की
प्रतिक्रिया