इटहरी । नेपालका २४ जिल्लामा पछिल्लो २४ घण्टाभित्र भएका २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ९ गते सार्वजनिक गरेको बुलेटिनअनुसार सर्पदंशबाट ४ जना, पहिरोबाट १ जना र ग्यास विष्फोटबाट १ जनाको मृत्यु भएको हो।
प्राधिकरणका अनुसार साउन ८ बिहान १० बजेदेखि साउन ९ बिहान १० बजेसम्म सर्पदंशका ११ घटना सात जिल्लामा भएका छन्। ती घटनामा ४ जनाको ज्यान गएको र ७ जना घाइते भएका छन्। सर्पदंश नियन्त्रण तथा उद्धारका लागि ४५ जना नेपाल प्रहरी परिचालन गरिएको छ।
यस अवधिमा सात जिल्लामा आठ वटा पहिरोका घटना भएका छन्। पहिरोमा परी १ जनाको मृत्यु, ३ जना घाइते तथा १ जनाको सकुशल उद्धार गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा सडक खुलाउन ३७ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, ग्यास विष्फोटको एक घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन्। आगलागीका चार घटनामा भने मानवीय क्षति नभए पनि २० जना प्रहरी परिचालन गरिएको थियो। बाढीको एक र अविरल वर्षाका दुई घटनाले सडक अवरुद्ध र भौतिक क्षति पुर्याए पनि मानवीय क्षति भएको छैन। लेक लाग्ने र जनावरको आक्रमणका छुट्टाछुट्टै घटनामा एक–एक जना घाइते भएका छन्।
विपद्का कारण २४ घण्टामा देशका ६ प्रमुख सडक मार्ग अवरुद्ध भएका छन्। साथै ९ पशुचौपायाको क्षति भएको र करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ। उद्धार तथा विपद् व्यवस्थापनका लागि देशभर १२८ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार वैशाख १ देखि साउन ९ सम्म देशभर ३ हजार ७४० वटा विपद्का घटना भएका छन्। यस अवधिमा १८३ जनाको मृत्यु, ३ जना बेपत्ता र १ हजार ७६ जना घाइते भएका छन्। ४ हजार ८०८ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।
तथ्याङ्कअनुसार यस अवधिमा सर्पदंश, चट्याङ र आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ। सर्पदंशका ६०७ घटनामा ५२ जनाको मृत्यु भएको छ भने चट्याङका २३० घटनामा २५ जना र आगलागीका ९६२ घटनामा १८ जनाको ज्यान गएको छ।
प्राधिकरणले तराई तथा भित्री मधेस क्षेत्रमा सर्पदंशको जोखिम बढेकाले राति टर्च प्रयोग गर्न, घर वरिपरि सरसफाइ कायम राख्न तथा सर्पले टोकेमा झाँक्री वा जडीबुटीको भर नपरी तुरुन्त उपचार केन्द्रमा जान आग्रह गरेको छ। साथै पहिरो र बाढी प्रभावित क्षेत्रमा यात्रा गर्दा पूर्वसूचना लिएर सतर्कता अपनाउन तथा विपद्का घटनामा नजिकको प्रहरी चौकी वा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ।