अस्पताल बिरामी छ ! कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा समाजवादी नेता राजन राईको संघीय मन्त्री पौडेललाई खुला पत्र

फाष्ट मिडिया नेपाल संवाददाता

स्वास्थ्य मन्त्रीलाई खुल्ला पत्र –

“माननीय प्रदीप पौडेलजी, लगभग १ हप्तादेखि म आमाको उपचारको सन्दर्भमा धरानअवस्थित बिपि मेमोरियल अस्पतालमा छु । डाक्टरहरुका अनुसार सायद आज उहाँलाई अस्पतालले डिस्चार्ज गर्छ होला ।

नेपाली छापाहरूका अनुसार केही दिन अघि तपाईँ पनि अस्वस्थताका कारण वीर अस्पताल भर्ना हुनुभएको खबर थियो । त्यस पछि तपाईँको स्वास्थका सन्दर्भमा म अप्डेड छैन, आशा गर्छु,म तपाई, पूर्णस्वस्थ भई घर फर्कि सक्नुभएको छ । 

विपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान नेपालकै  ख्यातिप्राप्त संस्थान हो । यहाँ उपचारका निम्ति  प्रदेश न १ बाट मात्र होईन, मधेस प्रदेश र छिमेकी मित्रराष्ट्र भारतबाट समेत उपचारका निम्ति मानिसहरू आउने गर्दछन् । भौतिक  आवरणलाई हेर्दा अस्पतालका संरचनाहरू भब्य देखिन्छन् तर एउटा बिरामी वा तिनका आफन्तका भोगाईमा अस्पताल क्षतविक्षत भैसकेको छ । लगभग हप्ता दिन अस्पताल रहदाँ सेवाका सन्दर्भमा मेरो कुनै गुनासो छैन । अस्पतालका डाक्टर , नर्स लगायत अन्य कर्मचारीहरु दक्ष र व्यावसायिक छन् । म उहाँहरुको कर्तव्य निष्ठताको उच्च प्रशंसा गर्दछु । तर अस्पतालको प्राविधिक पाटो अत्यन्तै चिन्ताजनक अबस्थामा पुगेको छ । यति ठूलो अस्पतालमा लगभग ८÷९ बर्षदेखि एमआरआई मेसिन छैन । एक छिनलाई मानौं यो मेसिन मर्मत वा खरिद गर्न महगो पर्छ रे ! तर अस्पतालका सामान्य तर अत्यावश्यक सामाग्रीहरु किन नयाँ खरिद वा मर्मत गरिन्न ? मन्त्री जी, यहाँ मसिना मसिना सामान जस्तै ट्रली, ह्वीलचियर, बेड, शौचालय, धारा आदी कुनै पनि सामागीहरु दुरुस्त छैनन् । कभर फाटेको ट्रलिको फर्ममा अरु बिरामीको लतपतिएको रगतमा आफ्नो आमालाई राखेर हिड्नु पर्ने दुर्भाग्यको अनुभूती निक्कै कस्टकर हुँदोरहेछ। उदाहरण दिन मिल्छ , मिल्दैन तर साँच्चै भन्दा यो समय अस्पतालको भित्री अबस्था ईजरायलले गरेको ब’मबाड पछिको गाजापट्टी जस्तै भएको छ ।

 प्रदिपजी, विद्यार्थी राजनीतिका क्रममा हामी लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि, मुलुकलाई कसरी समुन्नत बनाउन सकिन्छ । मुलत स्वास्थ र शिक्षामा राज्यको उत्तर दायित्व कस्तो हुनु पर्छ , भन्ने बिषयमा घण्टौं बहस गर्दथ्यौँ । हामीले उचालेको झण्डा, लगाएको गगनभेदि नारा, भोगेको  यातना, खेपेको जे’लनेल सम्मुनत नेपालको निम्ति थियो । 

 मैले यहाँ रहदाँ सामान्य रुपमा डाक्टरहरु र नर्सहरु सोधेँ, अस्पताल बिरामी हुनको कारण के ? उहाँहरुको साझा उत्तर थियो, राजनीति !

अहिले तपाईँ निर्णय गर्ने ठाँउमा हुनुहुन्छ ! प्रतिष्ठानको उपकुलपति कार्यकाल संभवत सिद्धियो । नयाँ नियुक्त गर्दा योग्य, कर्तब्यनिष्ट विद्वानलाई यसको जिम्मेवारी दिनुहोला । यो भन्दा अघिका थाङनाहरू जस्तालाई होइन । ( तस्बिर गणतान्त्रिक आ’न्दोलनको समय प्रदिप पौडेलजी सँग  )


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया