दमक नगरपालिकाद्वारा सामुदायिक विद्यालय अनुगमन

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । दमक नगरपालिकाले आज दमकक्षेत्रभित्रका सामुदायिक विद्यालयको स्थलगत निरीक्षण गरेको छ । दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईद्वारा आइतबार दमकका विभिन्न सामुदायिक विद्यालयहरूको स्थलगत निरीक्षण गरेका हुन् । संघीय विशेष अनुदान अन्तर्गत प्राप्त ३ करोड बजेटमार्फत विद्यालयहरूमा भौतिक पूर्वाधार तथा आवश्यक संरचनाहरू निर्माण सम्पन्न हुने चरणमा रहेका छन्।

नगरपालिकाको शिक्षा शाखा अधिकृत सोम गुरागाई, प्राविधिक इन्जिनियर गणेश गुरुङ, प्राविधिक इन्जिनियर प्रेम बास्तोला, प्राविधिक इन्जिनियर सुनिल भण्डारी र निर्माण व्यवसायीका प्रतिनिधी लगायतको उपस्थिति रहेको उक्त निरीक्षण कार्यक्रममा नगरप्रमुख तथा उपप्रमुखले विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरूसँग छलफल गर्दै विद्यालयका थप आवश्यकताबारे जानकारी समेत लिएका छन् । 

अनुगमन गरिएको विद्यालयहरुमा भृकुटी माविको छात्रा शौचालय तथा सेफ्टी ट्याङ निर्माण, चुलाचुली माविको २ तले ८ कोठे नयाँ भवन निर्माण, जनचेतना माविको बालबालिका लागि खेल्ने सेड निर्माण, कृष्ण माविको अधुरो भवन सम्पन्न, ताराबारी माविको अधुरो भवन सम्पन्न, विद्योलय माविको पुरानो भवनमा तला थप (सिजिआई) तथा बालबालिका खेल्ने सेड, दीपिनी आविको १ तले २ कोठे नयाँ भवन निर्माण, पृथ्वी माविको भवन तला थपको अनुगमन भएको हो ।  उक्त अनुगमनको क्रममा नगरप्रमुख र उपप्रमुखले विद्यालयहरूको भौतिक पूर्वाधारको अवस्था, निर्माण कार्यको प्रगति तथा आवश्यक बजेट व्यवस्थापनका विषयमा विद्यालयका प्रअहरूसँग परामर्श गरेका छन् । नगरपालिकाले शिक्षाक्षेत्रको विकासलाई उच्च प्राथमिकता दिँदै आगामी दिनमा थप विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइएको छ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया