मोरङका केही स्थानमा व्यावसायिक कुखुरा पालन गरिएका फार्ममा बर्ड फ्लु देखिएको छ । यो कुखुरा पालक किसानका लागि चिन्ताजनक मात्र होइन, कृषि अर्थतन्त्रकै लागि गम्भीर चुनौती पनि हुन सक्छ । केहि वर्ष अघि वर्डफ्लुका कारण नेपाली पोल्टूी व्यवसायले करोडौ गुमाउनु परेको नेपाली किसान र लगानीकर्ताले अझै बिर्सिएका छैनन् ।
यो भाईरस अत्यन्त संक्रामक र पन्छीका लागि घातक भएकाले फैलिन नदिन तुरुन्तै कडा सतर्कता अपनाउनु आवश्यक हुन्छ । त्यसै कारण प्रभावित क्षेत्रमा कुखुरा तथा पन्छीजन्य वस्तु नष्ट गर्ने कार्य गरिनु स्वास्थ्य सुरक्षाका दृष्टिले उचित कदम हो । तर, यसको प्रत्यक्ष मार किसानमाथि पर्न गएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन ।
नेपालका किसान र उद्यमीहरू पछिल्ला वर्षहरूमा पटक(पटक संकटको सामना गर्दै आएका छन् । कहिले २०७२ सालको भूकम्प, कहिले कोभिड(१९, त कहिले अन्तर्राष्टिूय बजारको अस्थिरताले उनीहरूको लगानी जोखिममा परेको छ । यस्ता निरन्तरका झट्काबीच बर्ड फ्लुको प्रकोपले पुनः आर्थिक भार थपेको छ । यसले कृषिमा आत्मनिर्भरता र रोजगारी सिर्जनामा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस परिस्थितिमा रोग नियन्त्रण र किसान संरक्षणबीच सन्तुलन कायम गर्नु सरकारको प्रमुख दायित्व हो । रोग फैलिन नदिन जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ। फार्ममा आवतजावत नियन्त्रण, नियमित परीक्षण, र संक्रमित क्षेत्रको निगरानी बढाउनु जरुरी छ । यस्तै क्षति भएका किसानलाई छिटो, पारदर्शी र पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउनु अत्यावश्यक छ । ढिलो वा न्यून राहतले किसानलाई पेशाबाट पलायन हुन बाध्य बनाउन सक्छ ।
यस्ता सम्भाव्य जोखिमहरुबाट लगानीकर्तालाई पलायन हुनबाट रोक्न कृषि बीमा प्रणालीलाई प्रभावकारी बनाउँदै यस्ता महामारीजन्य जोखिम समेट्ने व्यवस्था गर्नुपर्छ । सहुलियत ऋण, पुनःस्थापना अनुदान, र प्राविधिक सहयोगमार्फत किसानलाई पुनः व्यवसायमा फर्किन प्रेरित गर्न सकिन्छ । स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरेर सचेतना अभियान सञ्चालन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
लोककल्याणकारी राज्यको मर्म केवल संकट नियन्त्रणमा मात्र होइन, प्रभावित नागरिकको जीवन पुनःस्थापनामा पनि देखिनुपर्छ । किसानलाई आर्थिक र मनोवैज्ञानिक रूपमा साथ दिँदै दीर्घकालीन समाधानतर्फ उन्मुख नीतिहरू अवलम्बन गरिएमा मात्र यस्ता विपद्बाट हुने क्षति न्यून गर्न सकिन्छ । आत्मनिर्भर हुँदै गएको नेपाली पोल्टूी व्यवसायले हजारौलाई रोजगारी समेत प्रदान गरेको छ भने ठुलो नेपाली मुद्रा विदेशीनबाट रोकेको छ । त्यसैले यो पेशा र उद्यमलाई धरासायी हुनबाट रोक्न राज्य संयन्त्रको गम्भिर अग्रसरताको खाँचो देखिएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो