इटहरी । प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले झापाको बिर्तामोडस्थित विभिन्न सरकारी कार्यालय तथा संस्थाको अनुगमन गर्दै सेवा प्रवाहलाई प्रभावकारी, छिटो र नागरिकमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशनात्मक सुझाव दिएकी छन्।
बिर्तामोड भ्रमणका क्रममा उनले यातायात व्यवस्था कार्यालय, नेपाल विद्युत प्राधिकरण, बिर्तामोड नगरपालिका, बिर्तामोड नगर अस्पताल तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरेकी हुन्।
यातायात व्यवस्था कार्यालयमा उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई छिटो बनाउन, अनलाइन भुक्तानी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सेवाप्रवाहलाई प्रविधिमैत्री र सहज बनाउन आवश्यक पहल गर्न आग्रह गरिन्।
नेपाल विद्युत प्राधिकरण बिर्तामोड वितरण केन्द्रमा उनले बारम्बार हुने विद्युत अवरोध न्यूनीकरण, नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तथा उपभोक्ताका गुनासो समयमै सम्बोधन गरेर सेवा सुधार गर्न निर्देशन दिइन्।
प्याब्सन झापाका पदाधिकारीसँगको छलफलमा निजी विद्यालयको वर्तमान अवस्था, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाको विकास, शैक्षिक क्षेत्रका चुनौती तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारासँग नगर विकास, स्थानीय पूर्वाधार, सरसफाइ, सडक तथा ट्राफिक व्यवस्थापन, नागरिकका गुनासो सम्बोधन तथा संघीय सांसद र स्थानीय सरकारबीच समन्वय बढाएर विकास निर्माणका कामलाई गति दिने विषयमा छलफल भएको थियो।
त्यसैगरी बिर्तामोड नगर अस्पतालको निरीक्षणका क्रममा राना मगरले अस्पतालको सेवा प्रवाह, आईसीयू शय्याको अभाव, सेवा क्षमता विस्तार तथा डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले आवश्यक पूर्वाधार, जनशक्ति र स्रोत–साधन व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
भ्रमणपछि सांसद राना मगरले नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी सार्वजनिक सेवा पाउने वातावरण बनाउन सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय, सहकार्य र आवश्यक पहललाई अघि बढाइने बताइन्।